काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेदवार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ति प्रकट गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै महासचिव पोखरेलले सरकारको शैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन्।
सरकारले हिजो त्रिभुवन विश्वविद्यालयमा नियुक्त गरेका किशोर थापा काठमाडौं महानगरको निर्वाचनमा २०७४ सालमा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।
‘विद्यार्थी सङ्गठन माथिको प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्व सचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा कुर्सीमा पुर्याएर उदांगिएको छ,’ महासचिव पोखरेलले लेखेका छन्।
राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फत रिक्त गरिएको पदमा आफ्नो दलको खास मान्छे नियुक्त गरिएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले थापाको नियुक्तिप्रति व्यङ्ग्य गर्दै लेखेका छन् ‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ। हैन र ?’


प्रतिक्रिया