अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सबै असल हुँदैनन्, पुराना सबै खराब हुँदैनन्

नयाँ सबै असल हुँदैनन्, पुराना सबै खराब हुँदैनन्


नयाँ हुनु वा पुरानोबाट नयाँको परिचय बनाउनु गुण गुणले सजिएको परिचय होइन, पुरानो हुनु दोष थुप्रिएको र दोष दोषको प्रमाण पनि होइन। समय, अनुभव र सङ्घर्षको परीक्षामा खारिएर स्थापित गरेको मूल्यले पुरानाभित्र पनि अनेकौं गुणहरू उजागर गर्न सक्छ र नयाँपन अधकल्चो आवरणभित्र पनि कमजोरी र दोषहरू रहेको तथ्यहरू पत्ता लाग्न सक्छ। त्यसैले व्यक्ति, विचार वा संस्थाको मूल्याङ्कन उसको उमेरले होइन, उसको चरित्र, योगदान र कर्मका आधारमा हुन्छ।

नेपालको राजनीतिमा केही वर्षदेखि एउटा नयाँ न्यारेटिभ्स् जनमानसमा निकै बोलिन्छ र सुनिन्छ। पुराना सबै असफल भए, अब नयाँहरूको पालो हो। युवाको ऊर्जा, परिवर्तनको चाहना र सुधारको आकाङ्क्षाको मनोविज्ञानमा टेकेर गरिएको यो भाष्य अहिले बजारमा निकै बिकेको छ। तर कुनै पनि आकर्षक भाष्यले मानिसको मनोविज्ञानमा खेल्दैमा त्यसले सत्यापन नै पुष्टि गर्छ भन्ने हुँदैन।

राजनीति शास्त्र र समाजशास्त्रले हामीलाई परिवर्तन र प्रगति एउटै कुरा होइनन् भन्ने अत्यन्त गहिरो तर सरल सत्य सिकाएका छन्। परिवर्तनले समाजमा नयाँ न्यारेटिभ्स् स्थापित गर्न सक्ला, तर परिवर्तनको त्यो न्यारेटिभ्स्ले समाज, राज्य र जनजीविकालाई अझ समृद्ध, न्यायपूर्ण र उत्तरदायी बनाउँछ नै भन्ने कुराको कुनै सुनिश्चितता गर्न सक्दैन। त्यसैले नयाँ नाम, नयाँ अनुहार वा नयाँ दलको उदय परिवर्तनको प्रमाण हुन सक्ला, तर त्यो प्रगतिको प्रमाण होइन। प्रगति त्यति बेला मात्र सम्भव हुन्छ, जब परिवर्तनले विचारमा परिपक्वता, व्यवहारमा इमानदारिता, नेतृत्वमा नैतिकता र परिणाममा जनविश्वास स्थापित गर्न सफल हुन्छ । त्यसैले कुनै दल नयाँ हुँदैमा त्यो उत्कृष्ट हुने र कुनै दल पुरानो हुँदैमा असफल हुन्छ भन्ने निष्कर्ष वैज्ञानिक र ऐतिहासिक भौतिकवादी निष्कर्ष होइन । त्यसको वास्तविक मूल्याङ्कन उमेर वा समयले होइन, त्यसको विचार, चरित्र, कार्य संस्कृति, जनउत्तरदायित्व र त्यसले ल्याउने परिणामले निर्धारण गर्दछ।

आयरिस राजनीतिज्ञ तथा राजनीतिक चिन्तक (एडमन्ड बर्क) ले पिपुल विल नट लुक फर्वार्ड टु पोस्टेरिटी, हु नेभर लुक ब्याकवर्ड टु देयर एन्सेस्टर्स अर्थात्, आफ्ना पूर्वज र विगतबाट सिक्न नजान्ने समाजले उज्ज्वल भविष्य निर्माण गर्न सक्दैन भनेका छन्। उनको यो भनाइले नयाँ भविष्य निर्माण गर्न विगतलाई गाली मात्रै दिने होइन, त्यसबाट सिक्ने क्षमता आवश्यक हुन्छ भन्ने सन्देश प्रवाह गर्दछ। जर्मन दार्शनिक (जर्ज विल्हेल्म फ्रेडरिक हेगेल) ले इतिहासलाई निरन्तर विकासको प्रक्रिया मानेका छन्। उनको प्रसिद्ध भनाइ दि आउल अफ मिनर्भा स्प्रेड्स इट्स विङ्स ओन्ली विथ द फलिङ अफ द डस्क अर्थात्, कुनै युग, विचार वा व्यवस्थाको वास्तविक मूल्याङ्कन समय बितेपछि मात्र सम्भव हुन्छ। हेगेलको यो दर्शनले नयाँको वास्तविक मूल्य समयले प्रमाणित गर्ने र पुरानाको वास्तविक योगदान इतिहासले देखाउँने कुरा हामीलाई सिकाउँछ। यसले हामीलाई नयाँ भएको आधारमा प्रशंसा र पुरानो भएको आधारमा अस्वीकार गर्नु विवेकपूर्ण दृष्टिकोण होइन भन्ने पनि सिकाउँछ। यहाँ एकजना बेलायती लेखक (गिल्बर्ट किथ चेस्टर्टन) को भनाई उल्लेख गर्न सान्दर्भिक हुन्छ। उनले भनेका छन् डु नट रिमुभ अ फेन्स अन्टिल यू नो ह्वाइ इट वाज पुट अप अर्थात्, कुनै पुरानो संरचना हटाउनुअघि त्यो किन बनाइएको थियो भन्ने बुझ्नुपर्छ। राजनीतिमा पनि यही सिद्धान्त लागू हुन्। कुनै संस्था, दल वा परम्परा केवल पुरानो भएकै कारण गलत हुँदैन, त्यसले किन जन्म लियो, के योगदान दियो र त्यसको महत्त्व के छ भनेर बुझ्नु नयाँहरुका लागि आवश्यक हुन्छ भनेर बुझ्नु पर्दछ। यदि विचार, नीति र उद्देश्य नै गलत छन् भने नयाँ अनुहार, नयाँ शैली वा नयाँ सङ्गठनले मात्र समाजलाई सही दिशामा लैजान सक्दैन। त्यसैले हामी भन्न सक्दछौ, नयाँ सबै ठीक हुँदैनन्, पुराना सबै गलत हुँदैनन्। समयले परीक्षण नगरेको नवीनताभित्र पनि कमजोरी र जोखिम लुकेको हुन सक्छ भने पुरानोभित्र पनि खारिएको अनुभव हुन सक्छ। 

लोकतन्त्रमा प्रतिस्पर्धा विचारको हुनुपर्छ, उमेर र समयको होइन। मूल्याङ्कन कामको हुनुपर्छ, केवल नयाँ पुरानोको लेबलबाट होइन। यसबाट पुरानो हुनु अपराध होइन, नयाँ हुनु उपलब्धि होइन भन्ने कुराको पुष्टि हुन्छ। त्यसैले राजनीति होस् वा समाज, त्यसको मूल्याङ्कन नयाँ वा पुरानो भन्ने आधारमा होइन, विचार, चरित्र, कार्यसम्पादन र जनउत्तरदायित्वका आधारमा गरिनुपर्छ। समयले परीक्षण गरेको अनुभवले पुरानाभित्र पनि अमूल्य ज्ञान र स्थायित्व हुन सक्छ भने परीक्षण नभएको नवीनताभित्र आकर्षणसँगै जोखिम पनि लुकेको हुन सक्छ। त्यसैले परिवर्तन आवश्यक छ, तर परिवर्तनभन्दा महत्त्वपूर्ण कुरा सही दिशा, सही विचार र सही परिणामसहितको प्रगति त्यो भन्दा महत्त्वपूर्ण छ।

आजको नेपाली समाजमा एउटा खतरनाक राजनीतिक बहस चलेको छ। पुराना सबै खराब, नयाँ सबै असल। यसले अर्को एउटा जबरजस्त प्रश्न उठाएको छ। यदि नयाँ दलका अधिकांश नेतृत्व, रणनीतिकार, सल्लाहकार र कार्यकर्ता हिजोका पुरानै दलबाट आएका हुन् भने नाम फेरिँदैमा राजनीतिक संस्कार  फेरिन्छ कि फेरिँदैन ? नयाँ घर निर्माण हुँदैमा त्यसमा प्रयोग हुने इँटा नयाँ इतिहासबाट आएको हुँदैन। नयाँ बोतलमा पुरानो मदिरा राख्दैमा त्यसको स्वाद स्वतः नयाँ हुँदैन। त्यसै गरी, नयाँ झन्डा, नयाँ चुनाव चिन्ह वा दल कम उमेर र नाम नयाँ हुँदैमा त्यसको विचार, राजनीतिक संस्कार र नेतृत्वको चरित्र  स्वतः नयाँ भई हाल्दैन। वास्तविक नवीनता त नाम र नाराभन्दा विचार, व्यवहार र परिणाममा देखिनुपर्छ।

संसारका धेरै सफल संस्था, विश्वविद्यालय, न्याय प्रणाली र लोकतान्त्रिक परम्परा सबै पुरानै हुन्। विश्वमा यी सबै प्ररम्पराहरु सफल छन् किनकि उनीहरूले समयसँगै आफूलाई सुधार्दै लगेका छन्। त्यसैले पुरानो हुनु कमजोरी होइन तर त्यसको निरन्तर सुधार गर्नु पुरानाको शक्ति हो। नेपालको सन्दर्भमा कुनै पुरानो राजनीतिक दलले पनि गल्ती गरेको हुन सक्छ। भ्रष्टाचार, गुटबन्दी, अकर्मण्यता गरेका र जनअपेक्षा पूरा नगरेका हुन सक्छन्। तर यसको अर्थ पुराना दलले गरेका सबै योगदान शून्य छन् भन्ने भाष्यमा बहकिनु कति ठिक कति बेठिक ? 

इतिहास र तथ्यहरू साक्षि छन्, नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण, सङ्घीयता, समावेशिता, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य लगायतका धेरै संस्थागत उपलब्धिहरू यिनै पुराना राजनीतिक शक्तिहरूको नेतृत्वमा भएका हुन्। तर यसो भनिरहँदा उपलब्धि र कमजोरी दुवैलाई सँगै हेर्ने परिपक्वताको लोकतान्त्रिक चेतनाको लेन्स भने हामीले बिर्सन हुँदैन। राजनीतिक सिद्धान्तमा इन्स्टिच्युट मेमोरी अर्थात् संस्थागत स्मृति भन्ने एउटा अवधारणा छ। कुनै संस्था वा दलको दीर्घ अनुभव, सङ्कट व्यवस्थापनको क्षमता, नीति निर्माणको अभ्यास र ऐतिहासिक उत्तरदायित्व समयसँगै निर्माण हुन्छ। यसलाई एकै झट्कामा प्रतिस्थापन गर्न सकिँदैन। नयाँ पुस्ताले त्यो अनुभवलाई अस्वीकार होइन, आत्मसात् गरेर अझ राम्रो बनाउनु बुद्धिमानी हुन्छ।

वल्ड इज गोल्ड भन्ने भाषा केवल भावनात्मक अभिव्यक्ति होइन,  यो पुरानो अनुभवको सम्मान हो। सुन पुरानो हुँदैमा मूल्यहीन हुँदैन बरु समयले त्यसको शुद्धता प्रमाणित गर्छ। त्यसरी नै अनुभव, त्याग, सङ्घर्ष र राजनीतिक परिपक्वताको पनि आफ्नै मूल्य हुन्छ। यहाँ पुरानाको अन्ध समर्थन गर्न खोजिएको होइन। पुरानो हुनु कुनै पुरस्कार होइन। यदि पुरानो भएर पनि आत्म समीक्षा छैन, सुधारको इच्छाशक्ति छैन, जनताको आवाज सुन्ने क्षमता छैन भने त्यस्तो पुरानोपन नागरिकका लागि बोझ बन्न सक्दछ। त्यसै गरी नयाँ भएर पनि पारदर्शिता, उत्तरदायित्व र नैतिकता छैन भने त्यस्तो नवीनता केवल ब्रान्डको मार्केटिङ बन्न पुग्दछ।

त्यसैले नेपाली समाजले खोज्ने उत्तर को पुरानो ? को नयाँ ? होइन, यसको खोजीको सही प्रश्न, कसको विचार स्पष्ट छ ? कसको नेतृत्व इमानदार छ ? कसको व्यवहार लोकतान्त्रिक छ ? कसको कामले जनताको जीवन बदल्छ ? भन्ने हो। किनकि राजनीतिमा उमेरभन्दा चरित्र ठूलो हुन्छ। दलको स्थापना मितिभन्दा उसको कार्य संस्कृति ठूलो हुन्छ। नयाँ घोषणापत्रभन्दा त्यसको कार्यान्वयन ठूलो हुन्छ।

सामाजिक सञ्जाल र अल्गोरिदमको प्रचारले नेपाली समाजको वास्तविकतालाई धेरै पटक छाँयामा पारिदिएको छ र पारिदिन्। राम्रो भिडियो, आकर्षक नारा र आक्रामक भाषणले केही समय जनमत प्रभावित गर्न सक्छ। तर इतिहास सधैँ परिणामका आधारमा लेखिन्छ, प्रचारका आधारमा होइन। प्रश्न सोध्नु, प्रमाण माग्नु र कामको मूल्याङ्कन गर्नु नागरिकको दायित्व हो। नागरिकले नयाँलाई अवसर दिनुपर्छ, यो नयाँपनको अवसर पुरानोबाट पनि त खोज्न सकिन्छ। तर नयाँका नाममा अवसर दिनु भनेको विवेक नै बन्द गर्नु भने होइन। 

त्यसैले नेपाली समाज यति वेला पुराना सबै खराब र नयाँ सबै असल हुँदैनन् भन्ने एउटा सन्तुलित विश्वासको पक्षमा उभिन आवश्यक छ। नेपाली समाज नयाँ हुने वितिकै असल र राम्रो होइन की देशलाई दिएको योगदानका आधारमा, इतिहासको कठिन समय पार गरेको सङ्घर्षका आधारमा असल र राम्रो छुट्टाउन सक्नु पर्दछ। राजनीतिमा परिवर्तन आवश्यक छ, तर परिवर्तनको नाममा अनुभवलाई अपमान गर्नु बुद्धिमानी होइन। नयाँ फूल सुन्दर हुन सक्छ, तर रुखको जरा पुरानो छ भने त्यसले नै बगैँचालाई टिकाइराखेको हुन्छ। नयाँ पुस्ताले आकाश छोओस्, तर त्यसका लागि पुराना जराको महत्त्व बिर्सनु हुँदैन। नाति असल हुनु पर्दछ, तर त्यसले बुबा वा हजुरबालाई सरापेको चाहिँ रत्तिभर सुहाँउदैन। त्यसैले नयाँ र पुरानाको मापन उमेरले होइन, विचारको गहिराइले, नाराले होइन, नतिजाले र राष्ट्रप्रतिको इमानदारिताको लेन्सबाट खोजिनु पर्दछ।

तर नेपाली समाजमा अहिले पुरानो दल हुनु अपराध र यसका नेता हुनु अपराधी हुनु जस्तै व्याख्या भइरहेको छ। वर्षोसम्म पुरानो दलमा रहेर नयाँ दलमा जानु नै नयाँ हुनु जस्तो व्याख्या पनि भइरहेको छ। तर यी कुराहरू सत्य होइनन्। 

लोकतन्त्रमा कुनै पनि राजनीतिक दल आलोचनाभन्दा माथि हुँदैन र त्यो नागरिक भन्दा माथि पनि हुँदैन। पुराना दलका कमजोरी, त्रुटि र असफलतामाथि प्रश्न उठाउनु नागरिकको अधिकार मात्र होइन, दायित्व पनि हो। त्यसैले नयाँ दललाई केवल नयाँ भएकै आधारमा उत्कृष्ट घोषणा गर्नु पनि लोकतान्त्रिक विवेक होइन। इतिहास, दर्शन र राजनीतिक विज्ञानले हामीलाई सिकाउने साझा सत्य अनुभवलाई अस्वीकार गरेर दिगो परिवर्तन सम्भव हुँदैन भन्ने नै हो।

नेपालका पुराना राजनीतिक दलहरूले गल्ती पनि गरेका छन्, त्यसमा विवाद छैन। तर उनीहरूले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण, सङ्घीयता, समावेशीकरण, राजनीतिक चेतनाको विस्तार र राज्य निर्माणका विभिन्न चरणमा निर्वाह गरेको भूमिकालाई पनि नकारेर अगाडि बढन सकिँदैन होला नि ? त्यसैले उपलब्धि र कमजोरी दुवैलाई सँगै हेर्न सक्नु नै नागरिकको परिपक्व लोकतान्त्रिक चेतना हो। नयाँ दलहरूले टेकेको धर्ती पनि पुरानोको भन्दा भिन्न छैन । त्यसैले नयाँपनको आधारमा पुरानालाई गाली गर्नु र पुरानाको योगदानलाई शून्य ठान्नु इतिहासप्रति अन्याय गर्नु हो। अब नेपाली समाज नयाँ र पुरानाको कृत्रिम विभाजनभन्दा माथि उठ्न आवश्यक छ। राजनीतिक दलको मूल्याङ्कन उसको जन्म मिति, झन्डा वा चुनाव चिन्हले होइन; उसको विचार, नैतिकता, कार्यसम्पादन, जनउत्तरदायित्व र राष्ट्रप्रतिको योगदानले हुनुपर्छ। लोकतन्त्रमा दल पुरानो वा नयाँ हुनु ठुलो कुरा होइन, त्यसले नागरिकमा कस्तो विश्वास र भरोसा जोगाएको छ, त्यो ठुलो कुरा हो। 

पुरानो हुनु अपराध होइन, नयाँ हुनु उपलब्धि होइन। पुरानो दलको अनुभव, संस्थागत स्मृति, त्याग र ऐतिहासिक योगदानलाई सम्मान गर्दै त्यसलाई अझ सुधार्नु नै नागरिकले लोकतन्त्रप्रति गरेको योगदान हो। यति वेला नयाँ र पुरानाका नाममा समाज र राजनीतिको विभाजन होइन, राष्ट्रलाई आवश्यक पर्ने इमानदार नेतृत्व, स्पष्ट विचार, उत्तरदायी राजनीति र परिणाममुखी शासन हो। नेपालको लोकतन्त्रलाई बलियो, समृद्ध र दीर्घकालीन बनाउन  समयले प्रमाणित गरेको अनुभव र भविष्यप्रतिको जिम्मेवार दृष्टिकोणको आवश्यकता छ, नयाँ र पुरानोको अल्गो रिदमको भाषा होइन।

Skip This