काठमाडौँ-नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथि जोखिम बढ्दै गएको दाबी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिबीच न्यूनतम समझदारीसहितको एकता आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तीको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारको भूमिकाले राष्ट्रिय हितमाथि चुनौती थपिएको बताएका हुन्।
नेता ज्ञवालीले जेनजी आन्दोलनपछि विकसित राजनीतिक अवस्था र गैरजिम्मेवार शासनका कारण राष्ट्रियता थप जोखिममा परेको दाबी गरे। उनले परिवर्तनको नाममा भएका राजनीतिक घटनाक्रम र पछिल्लो निर्वाचनपछि देखिएको अवस्थाबारे जनतामा रहेको भ्रम बिस्तारै हट्दै गएको पनि बताए।
नेता ज्ञवालीले नेपालको परराष्ट्र नीतिको आधार सन्तुलित बाह्य सम्बन्ध, असंलग्नता तथा कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सिद्धान्त हुनुपर्ने उल्लेख गर्दै ती आधारभूत मान्यताबाट विचलित हुने प्रयासले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।
नेता ज्ञवालीले भने, ‘अब देशको राष्ट्रियतामाथि जोखिम एकदमै धेरै बढेर गएको छ। परिवर्तनको नाममा गएको भदौ २३, २४ मा जे भयो त्यसैको एउटा निरन्तरताको रुपमा फागुन २१ मा भएको चुनावबाट जेजस्ता शक्तिहरु अगाडि आए, यसका पछाडिका कारणहरुको बारेमा हिजो केही भ्रम थियो जनतामा भने बिस्तारै त्यो भ्रम टुट्दै गएको जस्तो देखिन्छ। असाध्यै गैरजिम्मेवार शासकहरुको हातमा देश रहँदा देशको राष्ट्रियतामाथि जोखिम पैदा हुने एकदमै सम्भावना बढ्दो रहेछ।’
प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै ज्ञवालीले कुनै पनि जिम्मेवार नेताले नेपालले अर्को देशको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार व्यवहार भएको आरोप लगाए। उनले संसदको रोस्ट्रमबाट यस्ता अभिव्यक्ति आउँदा संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालका लागि राष्ट्रियतामाथि ठूलो चुनौती सिर्जना हुन सक्ने बताए।
उनले भने, ‘देशले अवलम्बन गर्नुपर्ने एउटा अनिवार्य बाह्य सम्बन्धमा पालन गर्नुपर्ने बेसिक फाउन्डेसन हो कि सन्तुलित बाह्य सम्बन्ध, असंलग्नता, कुनै पनि सैन्य रणनीतिहरुमा गठबन्धनहरुमा नजोडिने जुन फन्डामेन्टल कुरा हो, त्यो फन्डामेन्टल कुरालाई नै जसले अस्वीकार जसले अस्वीकार गर्छन्। सनकको भरमा बाह्य सम्बन्धहरुलाई चलाउन खोज्छन्, जसले संसदको रोस्ट्रममा उभिएर सुसाइडल गोल हान्छन् कि हाम्रो देशले पनि अर्को देशको सीमा मिचेको छ, भूमि मिचेको छ भनेर यस्तो गैरजिम्मेवार व्यवहारले वास्तवमा एकदमै एउटा संवेदनशील भूराजनीतिक अवस्थामा रहेको हाम्रो जस्तो देशका लागि राष्ट्रियतामाथि एउटा ठुलो चुनौती खडा हुन सक्ने सम्भावना देखिन्छ।’
नेता ज्ञवालीले सरकार र सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरूबाट आउने आत्मघाती अभिव्यक्तिले राष्ट्रिय हित कमजोर बन्ने खतरा रहेको उल्लेख गर्दै देशको सार्वभौमिकता र राष्ट्रिय स्वार्थको संरक्षणका लागि सबै देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारी र एकता आवश्यक रहेको धारणा व्यक्त गरे।






प्रतिक्रिया