अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ:

आज दिउँसो
-देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

-देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

आज राति
-देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

-कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अपराह्नपछि काठमाडौँ उपत्यकामा मध्यसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

‘अहिले बिहान भने काठमाडौँ उपत्यकामा घाम लागेको छ’, उनले नेपालखबरसँग भने, ‘यो अवस्था दिउँसो २/३ बजेसम्म जाला। त्यसपछि मौसम बदली भएर मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।’ 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Skip This