अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला


काठमाडौंकतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ । 

कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौ सैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।

कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । फैसलाको विस्तृत पाठ आइसकेको छैन ।

आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।

‘कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं।’

‘हामी परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौं र हामी सबै कानुनी विकल्पहरूको खोजी गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ। विदेश मन्त्रालयले भनेको छ, ‘हामी यो घटनालाई उच्च महत्व दिन्छौं र यसलाई नजिकबाट नियालिरहेका छौं। हामीले सबै परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्नेछौं। 

‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौं,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन।’

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो । 

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गर्नुभएको थियो । गत जुन ८ मा एक्स (ट्वीटर)मा एक पोस्ट लेख्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गर्नुभएको थियो । एजेन्सी

Skip This