लमजुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले भोगिरहेका समस्या र ती समस्या समाधान गर्न कहाँ कहाँ के के गर्नुपर्छ भनेर नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा सञ्चालन गरेको बताउनुभएको छ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा शुक्रबार लमजुङको सुन्दरबजारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिक स्तरबाट उठेका समस्यामा एमालेको ध्यान गएको बताउनुभयो। यात्राको क्रममा नागरिकका समग्र समस्या थाहा भएको ओलीले बताउनुभयो।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि अढाई वर्षमा देश नराम्रोसँग ओरालो लागेको ओलीले बताउनुभयो। ‘राजनीति बिग्रियो, अस्थिरता, अन्योल, अविश्वास, असन्तुष्टि, अराजकता र विभिन्न प्रकारका फोटोवादी, अस्थिरतावादी, प्रतिक्रियावादी शक्ति सलबलाउनेसम्मको स्थिति बन्यो, राजनीति ओरालो लाग्यो, देशको अर्थतन्त्र त्यसै गरी ओरालो लाग्यो, विकास निर्माणका काम ठप्प भए’, ओलीले भन्नुभयो।

नेकपा एमालेको समयमा बनाइएका बाटाहरू अढाई वर्षमा फेरी भत्किएका भए पनि त्यसको कसैले मर्मत नगरेको ओलीले बताउनुभयो । बनिरहेका सडकको काम रोकिएको आफूले यात्राको क्रममा देखेको ओलीले सुनाउनुभयो । ‘यो अढाई वर्ष देशलाई बरबादी तर्फ धकेल्ने वर्ष भयो’, ओलीले भन्नुभयो।
नेकपा एमाले बाहेक जतिवटा पार्टी मिले पनि देशको विकास र समृद्धिको काम नहुने उहाँले प्रष्ट पार्नुभयो । एमालेले कोभिडको बेलामा त्यत्रो काम गरेको भए पनि गठबन्धन सरकारले सामान्य अवस्थामा पनि कुनै काम गर्न नसकेको ओलीको भनाइ छ ।
यही अवस्थामा देशलाई ओरालो लाग्न दिनु नहुने बताउँदै ओलीले जनतालाई जगाउन एमाले समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको ओलीले बताउनुभयो । देशभरिका दाजुभाइ दिदीबहिनीका सुझाव लिएर कसरी अघि बढ्ने भन्ने कुराको परामर्श गर्न यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । तसर्थ यो यात्रा सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पूरा गर्ने यात्रा भएको ओलीले बताउनुभयो । यात्राको क्रममा नागरिकको उत्साह देखेर आफूहरूको मनोबल बढेको ओलीले बताउनुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली संकल्प यात्रामा छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।





प्रतिक्रिया