अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते


जनकपुरधाम-धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीया रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए । त्यसै राति करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा फेला पारेको थियो । बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो ।

घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार बालकको अवस्था सामान्य रहेको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।

श्रीमतीको हत्या र छोरामाथि आक्रमणपछि उमेश घटनास्थलबाट फरार भएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो ।

प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको र उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।