धनकुटा–नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले गुणस्तरीय उच्चशिक्षाको प्रवर्धन र पेसागत सुरक्षाको संवर्द्धनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने भएको छ ।
धनकुटामा सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयको आधारमा उक्त संगठनले गुणस्तरीय शिक्षा र पेसागत सुरक्षाका लागि सबै विश्वविद्यालयका पदाधिकारीहरुलाई ध्यानाकर्षण गर्ने भएको हो । साथै, उक्त संगठनले निमित्त पदाधिकारीको भरका विश्वविद्यालयहरू सञ्चालन गर्दा प्राज्ञिक क्षेत्र अस्तव्यस्त बनेको निष्कर्ष निकाल्दै अविलम्ब मेरीटोक्रेशीको आधारमा पदाधिकारी नियुक्त गर्न समेत माग गरेको छ ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय कमिटीको बैठक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीको अध्यक्षतामा धनकुटामा सम्पन्न भएको थियो । सो अवसरमा बैठकको उद्घाटन गर्दै कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले विश्वविद्यालयका प्राध्यापकहरुलाई अनुसन्धानमा जोड दिन आग्रह गर्नु भएको थियो । साथै सांसद पराजुलीले सो अवसरमा विश्वविद्यालयहरू विचारका रूपमा समाजको मार्गनिर्देशक भएको बताउँदै,‘विश्वविद्यालय र क्याम्पसहरूलाई राजनीतिक हस्तक्षेपको निशाना बनाउन हुँदैन’ भन्नुभयो । विश्वविद्यालयहरूको स्वायत्तता, स्वतन्त्रता र प्राज्ञिक मर्यादाको सम्मान गरेमात्रै राजनीतिक, आर्थिक लगायत अन्य क्षेत्रमा शुद्धता कायम हुने उहाँले बताउनु भयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव होमबहादुर बस्नेतले सञ्चालन गर्नुभएको उक्त बैठकमा महासचिव डा. पद्यमप्रसाद खतिवडाले शैक्षिक, प्राज्ञिक र साङ्गठनिक एजेण्डाहरू प्रस्तुत गर्नु भएको थियो । बैठकले विभिन्न विषयगत सवालहरुमा छुट्टाछुट्टै रुपमा छलफल गरी १६ बुँदे धनकुटा घोषणापत्र जारी गरेको छ । जसअन्तर्गत समसामयिक शैक्षिक सवालमा गुणस्तरीय शिक्षा, पेसागत सुरक्षा, स्वायत्तता र समायोजन, पब्लिक क्याम्पसहरूको सवालमा सम्बन्ध, स्तर निर्धारण, मर्जिङ र अनुदान खर्च एवं प्राज्ञिक सवालमा पदाधिकारीको नियुक्ति, पदोन्नति, प्रतिस्पर्धाको आधार निर्धारण, पदाधिकारीहरूको कामको समीक्षा र सङ्गठनले निर्वाह गरेको भूमिकाको बारेमा महत्त्वपूर्ण निर्णयहरू भएका छन् ।
यसैगरी बैठकले विश्वविद्यालयहरूको पठन–पाठनमा देखापरेका समस्या, परीक्षामा भएको विलम्बले सिर्जना गरेका गुनासा र अनुुसन्धान कार्यमा दिनुपर्ने नियमितताको सवालमा पनि ठोस योजना बनाएर अगाडि बढ्न खाका तयार गरेको छ । केन्द्रीय कमिटीको बैठक अगाडि सङ्गठनको सचिवालय बैठक धनकुटा बहुमुखी क्याम्पसको पारिजात स्मृति सभा भवनमा बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने एजेण्डाहरूको निर्धारण र कार्यविधि पारित गरेको थियो ।
केन्द्रीय कमिटीको बैठक हुनुभन्दा अगाडि नेकपा एमाले स्थायी समिति सदस्य तथा शिक्षा तथा मानव स्रोत विभाग प्रमुख गुरु बराल, सङ्गठनका अध्यक्ष प्रा.डा. बेदराज केसी र महासचिव डा. पद्यमप्रसाद खतिवडाको उपस्थितिमा कोशी प्रदेशमा रहेका विभिन्न क्याम्पसका प्रमुख र विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूसँग प्राज्ञिक विषयमा केन्द्रित रही अन्तरक्रिया कार्यक्रम पनि आयोजना भएको थियो । सो अवसरमा सङ्गठनका प्रमुख अतिथि गुरु बराल र अध्यक्ष प्रा.डा. के.सी. सङ्गठनले प्रकाशित गरेको ‘प्रगतिपथ’ नामक कृति संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।






प्रतिक्रिया