अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन


झापा-झापामा सहकारीमार्फत रु.७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ।

झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ। ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ’, उहाँले भन्नुभयो, ‘यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।’

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताउनुभयो। पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो।

अध्यक्ष ढकालले भन्नुभयो, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ।’

झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन्। ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ’, सङ्घका सचिव भवानीप्रसाद दङ्गालले भन्नुभयो।

झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन्। यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार/चार, विविध आठ र सङ्घ चार आबद्ध रहेको सचिव दङ्गालले बताउनुभयो । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्।

Skip This