अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक र धुलिखेलका न्यायिक समिती बीच असल अभ्यासको आदान प्रदान

सूर्यविनायक र धुलिखेलका न्यायिक समिती बीच असल अभ्यासको आदान प्रदान



भक्तपुर- सूर्यविनायक नगरपालिकाको न्यायिक समितीले काभ्रेको धुलिखेल नगरपालिकाको न्यायिक समितीले गरेका असल अभ्यासहरुको जानकारी लिएको छ ।
न्यायिक समितीकी संयोजक सरिता तिम्सिना भट्टराईको नेतृत्वमा गएको टोलीले धुलिखेल नगरपालिकाको न्यायिक समितीले गरेका न्यायिक निरुपणका कामका बारेमा जानकारी लिएको थियो । सो नगरपालिकाका प्रमुख तथा उपप्रमुख क्रमश अशोक व्याञ्जु र निराजन जंगमले आफ्नो नगरपालिकाले न्याय निरुपणमा अपनाएका विभिन्न विधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । ‘समान प्रकृतिका विवाद वा मुद्धामा धुलिखेल नगरपालिकाले के कसरी न्याय निरुपण गरेको रहेछ भनेर अनुभव साटासाट भए’ उपप्रमुख सरिताले भन्नुभयो ‘कतिपय विवाद निरुपणका लागि उहाँहरुले अपनाएका विधी हाम्रा लागि नयाँ भए,कतिपय हामीले अपनाएका विधि उहाँहरुका लागि नयाँ भए । यसबाट न्यायिक समितीबाट हुने न्याय निरुपण छिटो र सहज हुने विश्वास लिएका छौं ।’


नगरपालिकाको टोलीले दिगो विकास लक्ष्य प्राप्तीका लागि धुलिखेलले गरेका राम्रा अभ्यासहरुको पनि अवलोकन गरेको थियो । जसमा शिक्षा,स्वास्थ्य,खानेपानी,स्थानीय श्रोत र साधनबाट उत्पादित वस्तुको स्थायित्वका लागि गरेका कामहरुको जानकारी लिइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी सूर्यविनायक नगरपालिकामा रहेको काठमाडौं स्कूल अफ लले काभ्रेको नमोबुद्ध नगरपालिकामा सञ्चालन गरेको ‘ल रिसर्च सेन्टर’को पनि अवलोकन गरेको छ । काठमाडौं स्कूल अफ ल का तर्फबाट वरिष्ठ अधिवक्ता प्राध्यापक गीता पाठक संग्रौला र लेक्चरर रुविन श्रेष्ठसँग स्थानिय तहमा रहेको न्यायिक समितिको जिम्मेवारीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने विषयमा उहाँहरुसँगको छलफल फलदायी भएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।
छलफलका क्रममा काठमाण्डौं स्कुल अफ ल इन्टरनेसलन रिसर्च एण्ड आउटरिच सेन्टरले शैक्षिक क्षेत्रमा स्वदेश र विदेशका विधार्थीहरूका लागि उपलव्ध गुणस्तरीय आवासीय शिक्षा प्रारम्भकाल देखि निरन्तर प्रदान गर्दै आएको वरिष्ठ अधिवक्ता संग्रौलाले जानकारी गराउनुभयो ।


छलफलमा आगामी दिनमा सूर्यविनायक नगरपालिका र काठमाण्डौ स्कुल अफ ल का बीचमा संस्थागत समन्वय र सहकार्य गरेर हुँदै न्यायिक निरुपण कार्यलाई थप प्रभावकारी ढंगले सम्पादन गर्दै लगिने सहमती भएको छ ।
अघिल्लो कार्यकालमा स्थानीय तहले निर्माण गरेका कानूनमा आवश्यक संसोधन गरेर एकापसमा छलफल गरी र कानूनी राज्यको स्थापित मान्यतालाई सार्थक पार्ने विषयमा आगामी दिनमा छलफल गर्ने सहमती भएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।

भेटघाटमा सूर्यविनायक नगरपालिकाका तर्फबाट न्यायिक समितीका सदस्यहरु विनय महत,बासुदेव पोखरेल सहित इजलास अधिकृत कपिल अधिकारीको समेत सहभागिता रहेको थियो ।