अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। 

भेटवार्ताका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ। वैदेशिक व्यापारमन्त्री थानीसँग भेटपछिको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ढकालले भनेका छन्, ‘दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ।’

ढकालका अनुसार आगामी वर्ष नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा स्वर्णजयन्तीलाई विशेष समारोहका साथ मनाउने विषयमा पनि कुराकानी भएको छ। 

भेटमा यूएईका मन्त्री थानीले स्वर्णजयन्तीलाई ऐतिहासिक उपलब्धिका रूपमा मनाउनेबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको ढकालले बताए। दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यको गति कायम राख्न उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको ढकालले बताए। 

त्यसैगरी, नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई थप स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था उपलब्ध गराउने र लगानीको वातावरणमा विश्वास बढाउने उद्देश्यले लगानीसम्बन्धी संरचना (इन्भेस्टमेन्ट फ्रेमवर्क) सुदृढ गर्ने विषयमा समेत छलफल भएको ढकालले बताए। 

नेपाल–यूएईबीच हवाई सम्पर्क विस्तारका सन्दर्भमा यूएईबाट पोखरासम्म फ्लाई दुबईले सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवासम्म पनि सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरिएको ढकाले बताए। भैरहवासम्म सिधा उडान सुरु भएमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग यूएईको प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ। 

भेटका क्रममा यूएईका लगानीकर्तालाई नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टर क्षेत्रमा लगानीका सम्भावना खोज्न औपचारिक निमन्त्रणासमेत दिइएको ढकालले बताए। त्यसबाहेक, नेपालमा केबलकार तथा स्की रिसोर्टजस्ता विशिष्ट र उच्चस्तरीय पर्यटन पूर्वाधारमा लगानी गर्न पनि आग्रह गरिएको उनले बताएका छन्।