अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताले मन नपराएकाहरूले मिलेर शासन गर्दा देशमा निराशा बढ्यो: शंकर पोखरेल 

जनताले मन नपराएकाहरूले मिलेर शासन गर्दा देशमा निराशा बढ्यो: शंकर पोखरेल 


धादिङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनताले नपत्याएकाहरुले देश चलाइरहेको बताउनुभएको छ। 

नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन शुक्रबार धादिङ बेँसीमा उद्घाटन गर्दै पोखरेलले जनताबाट विस्थापित भएकाले सरकार चलाएका कारण देशमा निराशा बढेको बताउनुभयो। आज देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा एमाले बाहिर र साना जोडजाड गरेका दल सत्तामा रहेका कारण देशमा निराशा बढेको उहाँले बताउनुभयो।

यो कार्य लोकतन्त्रको मर्म प्रतिकै उपहास भएको पोखरेलले टिप्पणी गर्नुभयो । ‘जनताले मन नपराएकाहरूले मिलेर शासन गर्ने परिपाटी यो देशमा सुरु भएको छ, लोकतन्त्र भनेको जनताले मनपराएकाले शासन गर्ने परिपाटी हो, तर यहाँ जनताले मन नपराएकाले शासन गरिरहेका छन्’, पोखरेलले भन्नुभयो।

राष्ट्र निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने भए पनि जनताले बलियो राजनीतिक शक्ति निर्माण गर्न नसक्दा देश नबनेको पोखरेलले बताउनुभयो। गठबन्धनले दुनियाँमा काहीँ पनि देश नबनाएको पोखरेलको भनाइ छ।

नेकपा एमाले सरकारमा रहँदा स्वदेश फर्कने युवाको सङ्ख्या बढेको भएपनि एमाले सरकारबाट हट्ने बित्तिकै विदेश जाने युवाको सङ्ख्या बढेको पोखरेलले बताउनुभयो। देशमा बढ्दो निराशाको कारण युवा पलायन बढेको पोखरेलको टिप्पणी छ । ‘यो मुलुकलाई निराश तर्फ लैजान काम एमालेले होइन, यो मुलुकलाई निराशा तर्फ लैजाने कामको नेतृत्व अरू कसैले होइन, गठबन्धनधारी माओवादी र कांग्रेस र्गयो, गठबन्धन नेतृत्वको सरकारको अकर्मण्यताको कारण आज जनता निराश भएका छन्, युवा पलायन भएका छन् भन्ने कुराको सच्चाइलाई बुझ्न हामीले जति ढिला गर्दछौँ मुलुक बन्न त्यति नै ढिलाइ हुन्छ’, पोखरेलले भन्नुभयो ।

आज एमाले सत्तामा नहुँदा पनि प्रहारको निशाना एमाले माथि नै भएको उहाँले बताउनुभयो। सत्तामा बस्नेहरूले कुनै पनि कुरामा एमालेलाई कसरी जोड्न सकिन्छ भनेर एमालेलाई जोड्ने कोसिस गरेका पोखरेलले बताउनुभयो। छानबिन गर्दा एमालेले क्लिन चिट पाउने र सत्ताधारीका अनुहार देखिने गरेका पोखरेलले टिप्पणी गर्नुभयो। नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण, बालुवाटार जग्गा प्रकरणदेखि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण सबैमा सत्ताधारीकै अनुहार आएको उहाँले प्रष्ट पार्नुभयो।

बलियो राष्ट्रिय शक्ति नभई देश बन्न नसक्ने भन्दै उहाँले देश बनाउनको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसैले नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले प्रष्ट पार्नुभयो । त्यस कारण जनताले पनि सही समयमा सही निर्णय गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो।

अब नेपालको कम्युनिष्ट पार्टी एमाले मात्रै रहेको पोखरेलले बताउनुभयो । कांग्रेसको भरिया बन्नुभएका माओवादी र माधव नेपालको पार्टी अब कम्युनिष्ट नभएको उहाँले दाबी गर्नुभयो। माओवादी, एकीकृत समाजवादी र साना साना कम्युनिष्ट पार्टीमा रहेका नेता कार्यकर्तालाई उहाँले एमालेमा आउन पोखरेलले आह्वान गर्नुभयो।

गठबन्धन सरकार कल्पना नै गर्न नसक्ने गरी असफल भएको दाबी गर्नुभयो । गठबन्धन सरकारले देशको अवस्था सुधार गर्न नसक्ने उहाँले बताउनुभयो । अयोग्यलाई शासन गर्न दिएर देश बनेन भन्न नमिल्ने पोखरेलले टिप्पणी गर्नुभयो ।

राष्ट्र जोगाउनको लागि जनतालाई निराश हुनबाट जोगाउनु पर्ने उहाँले बताउनुभयो । जनतामा आशा जगाउन एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सञ्चालन गरेको पोखरेलको भनाइ छ।

एमालेले मध्यपहाडमा समृद्धिको आधार देखेको पोखरेलले दाबी गर्नुभयो। मध्यपहाडबाट बसाइँ सर्ने क्रम अब धेरै समय नचल्ने उहाँले बताउनुभयो ।

सरकारको अकर्मण्यता धरै सहन नसकिने बताउँदै पोखरेलले सरकारका विरुद्ध जनताको सामु जानु पर्ने बताउनुभयो। जनताको माध्यमबाट सरकारलाई सचेत बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।