अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकार असफल भइसक्यो: योगेश भटराई

वर्तमान गठबन्धन सरकार असफल भइसक्यो: योगेश भटराई


ताप्लेजुङ-नेकपा एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भटराईले वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ।

प्रेस चौतारी ताप्लेजुङको २६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भट्टराईले अब सत्ता गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताउनु भयो।

नेपालमा हरेक दशकमा केही न केही परिवर्तन भएको स्मरण गर्दै उहाँले प्रजातन्त्र, गणतन्त्रको विकल्प निरंकुशता नभएको बताउनु भयो ।

सचिव भटराईले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकार असफल भइसक्यो । सरकार राजस्व संकलनमा चुकेको छ। एक खर्ब ५० करोड ऋण कर्मचारी लाई तलब खुवाउन ऋण लिनु परेको छ। सुशासनमा इतिहासकै सबैभन्दा भ्रष्ट भएको छ। सुरुमा ताप्के तातेजस्तो तातिन्छ अनि गठवन्धनका नेता तानिन थालेपछि छानबिन अन्तै मोडिन्छ।’

अनुसन्धान गर्ने प्रहरी अधिकारी हटाइनु, सुन काण्डमा माओवादीका नेता तानिन थालेपछि छानबिन हराउनु यसको उदाहरण भएको सचिव भटराईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाँसबारी छानबिनमा सरकार तात्तियो अब कांग्रेसका सांसद समेत मुछिने भएपछि सामसुम हुन्छ। सरकार निकम्मा र कमजोर भएको छ।’

यो गठबन्धन सरकार जति दिन बस्छ मुलुक बर्बादीमा जाने उहाँले बताउनु भयो। सचिव भटराईले भन्नुभयो, ‘सरकार असफल हुँदा व्यवस्था असफल भएको होइन। कांग्रेसले यो अवस्था हेरेर नबसोस् र पुनर्विचार गर्नुहोस् । कांग्रेसले कित्ता स्पष्ट गर्नुपर्छ भनेर हामीले भनेका छौं।’