अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाज रूपान्तरणमा सहभागी हुन एमाले उपाध्यक्ष पौडेलको निर्देशन

समाज रूपान्तरणमा सहभागी हुन एमाले उपाध्यक्ष पौडेलको निर्देशन


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रूपान्तरणमा सहभागी हुने चुनौतीपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गर्नुभयो।

सोमबारदेखि बुटवलमा सुरु भएको नेकपा एमाले रुपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो।

पार्टीलाई विधि, पद्धतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतीपूर्ण रहेको तर्फ कार्यकर्ताको ध्यान आकृष्ट गर्दै विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न उहाँले आग्रह गर्नुभयो।

पार्टीभित्र नीतिमा समस्या नरहेकोले वैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने अहिले पार्टीमा कुनै समस्या नरहेको तर अरूको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी रहेको पौडेलको भनाइ रहेको थियो।

रुपन्देही पार्टीका लागि चुनौतीपूर्ण र अपरिहार्य कार्यसूचीभित्र सुकुम्वासी र अव्यवस्थित बोसवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पङ्क्तिलाई आग्रह गर्दै एमालेमार्फत नै युवा समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाएर तदनुसारको काममा लाग्न पौडेलले निर्देशन दिनुभयो।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौँ रु यसबारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुपर्‍यो।’

सबै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकोले बैठक, सम्मेलन, कार्य विभाजन र भाषण गरेर मात्र अब नहुने, जनतालाई छुने विषयमा कार्यसूची बनाएर हिँड्नुपर्ने उहाँको निर्देशन रहेको थियो।

प्रशिक्षण कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउन सुझाव दिँदै उपाध्यक्ष पौडेलले सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गरोस् भन्नुभयो। जीवन र जगतको परिभाषा जान्न तथा परिवर्तनको नियम बुझ्न पनि मार्क्सवादी दृष्टिकोणको अध्ययन जरुरी रहेकोले पुस्तक र समाज दुवै पढ्नका लागि उहाँले आग्रह गर्नुभयो।

जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा स्वागत स्कुल विभाग प्रमुख युवराज घिमिरेले, सञ्चालन सचिव यज्ञ गैरेले गर्नुभएको थियो।

प्रशिक्षण कार्यक्रममा जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा कार्यभार विषयमा प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव, केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति सीप शैली र कला, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग लगायतमा प्रशिक्षण दिनुहुनेछ।