अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपमहासचिव गुरुङको प्रस्ताव: संघमा १२ र प्रदेशमा ७ वटा मन्त्रालय मात्रै राखौँ

एमाले उपमहासचिव गुरुङको प्रस्ताव: संघमा १२ र प्रदेशमा ७ वटा मन्त्रालय मात्रै राखौँ


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय राख्न प्रस्ताव गर्नुभएको छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राख्नुभएको हो। 

मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले सो कुरा बताउनु भएको हो।

संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उहाँको तर्क थियो। उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरू कटौती गर्न र जिल्ला समन्वय समिति हटाउनुपर्ने समेत बताउनु भयो।

प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरू हटाएर त्यहाँ कार्यरत कर्मचारीहरू तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्न सके संघीयता कामकाजी हुने दाबी समेत गर्नुभयो। उहाँले संघीयतामा धेरै काम भए पनि त्यसको प्रचार हुन नसकेको पनि बताउनु भयो ।

पमहासचिव गुरुङले भन्नुभयो, ‘हाम्रो तीन तहको सरकार छ। संघीय शासन प्रणाली धेरै महँगो भयो भन्ने आलोचना छ। त्यसको व्यवस्थापन कसरी गर्छौं हामी? कतिपय काम प्रदेश र स्थानीय सरकारले पनि गर्ने भएकाले संघमा अब २५ वटा मन्त्रालय चाहिँदैन, १२ वटा मन्त्रालयमात्रै राखे हुन्छ। परराष्ट्रसँग सम्बन्धित, मौद्रिक नीतिसँग सम्बन्धित, रक्षासँग सम्बन्धित वा सूचना, सञ्चारसँग सम्बन्धित विभागबाहेक संघका कुनै विभाग आवश्यक पर्दैन‚ ५७ वटा विभाग छन्। तीमध्ये १० विभाग राखेर अरु हटाइदिए हुन्छ‚ त्यसले खर्च घट्छ।’

उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको काम प्रभावकारी बनाउन संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताउनु भयो। उहाँले संघीयतामा धेरै काम भए पनि त्यसको प्रचार हुन नसकेको पनि बताउनु भयो।