अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको विकास एमालेको नेतृत्वमा मात्र सम्भव: शंकर पोखरेल

देशको विकास एमालेको नेतृत्वमा मात्र सम्भव: शंकर पोखरेल


पाल्पा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको आराेप लगाउनु भएको छ।

बुधवार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो।

महासचिव पोखरेल भन्नुभयो, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए। कांग्रेस पनि जिम्मेवार पार्टी हो। हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ।इमानदार भएर राजनीति गरेको भए पटक-पटक आन्दोलन गर्नुपर्ने थिएन। ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।’ सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उहाँले बताउनु भयो ।

 निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको महासचिव पोखरेलले आरोप लगाउनु भयो।

‘विकास निर्माणका काम अलपत्र छन्। ऋण दैनानुदिन बढिरहेको छ। जनता गरिबीले छट्पटिएका छन्। युवा विदेश जान बाध्य छन्’, उहाँले भन्नुभयो, ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ।’

एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उहाँले दाबी गर्नुभयो। विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो। देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो।