अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली

एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली


राैतहट-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनु भएको छ।

नेकपा एमाले राैतहटको १०औं जिल्ला अधिवेशनकाे उद्घाटन समाराेहलाई आज राैतहटमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनु भएको हो।

अध्यक्ष ओलीले देशमा अब गठबन्धनकाे नभइ जनताकाे सरकार बनाउनुपर्ने बताउनुभयाे। उहाँले एमाले सरकार बनेमात्र देश र जनताकाे सरकार हुन सक्ने भन्दै आगामी चुनावपछि एमालेकाे सरकार बन्नेगरी लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘मिसन ८४ जसमा हामीले यस देशमा जनताकाे सरकार बनाउनुपर्नेछ, गठबन्धनकाे हाेइन, एमालेकाे बहुमतसाथ सरकार बनाए मात्रै त्याे सरकार देशकाे, जनताकाे, विकासकाे र सुशासनका लागिकाे सरकार हुन सक्दछ, तसर्थ मिसन ८४ लाई ध्यानमा राखेर, आन्तरिक एकता कायम गरेर, संगठन विस्तार गरेर, पार्टी सदस्यता विस्तार गरेर, जनसंगठनका सदस्य विस्तार गरेर, कमिटी विस्तार गरेर, कमिटीलाई परिचालन गरेर काम गर्नुस्।’

उहाँले जनताकाे बीचमा जान, सचेत र संगठित गर्न पनि नेता-कार्यकर्तालाई निर्देशन दिनुभयाे। पार्टीका गतिविधिलाई सक्रिय बनाएर देश र जनताका लागि काम गर्दै अघि बढेपछि समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने अध्यक्ष ओलीले बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘तपाइँहरु जनताकाे बीचमा जानुस्, जनतालाई सचेत गर्नुस्, संगठित गर्नुस्, विभिन्न तत्वले भ्रम फिँजाउन सक्दछन्, अन्याैल सृजना गर्न सक्दछन्,त्यसबाट जनतालाई मुक्त गर्नुस्, र सचेत जनता बनाएर संगठित गरेर जनतालाई परिचालित गर्नुस्, जसले गर्दा समृद्ध नेपाल सुखी नेपाली बनाउने नेपाली जनताकाे राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ।’

नेकपा एमालेले सरकारमा छँदा राैतहटसँगै समग्र मधेशकाे विकासका लागि काम गरेकाे उहाँले स्मरण गराउनुभयाे । काम अगाडि बढाइएकै बेला आफूहरु सरकारबाट हट्नुपरेकाे अध्यक्ष ओलीले बताउनुभयाे।