अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बन्न र सत्ता कब्जा गर्न मात्र ‘जनयुद्ध’ भएको रहेछ: अध्यक्ष ओली

प्रधानमन्त्री बन्न र सत्ता कब्जा गर्न मात्र ‘जनयुद्ध’ भएको रहेछ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ताका लागि मात्रै तत्कालिन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको आरोप लगाउनु भएको छ।

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरूको सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पछिल्ला गतिविधि हेर्दा ‘जनयुद्ध’ सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको प्रष्ट भएको बताउनु भयो।

राज्य जोगाउने नाममा वा ‘जनयुद्ध’ चलाएर सत्ता कब्जा गर्ने नाममा मात्रै ‘जनयुद्ध’ भएको अध्यक्ष ओलीले बताउनु भयो । ‘सत्ता र प्रधानमन्त्री पदका लागि १७ हजार मानिस मर्नुपर्ने?’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो।

माओवादीले त्यसबेला हिंसा किन गरेको भन्ने अहिले पनि पुष्टि गर्न नसकेको अध्यक्ष ओलीको भनाइ छ। युद्धका पीडितले हालसम्म पनि न्याय नपाउनु दु:खद भएको उहाँले बताउनु भयो ।

‘हिंसा सुरु गरेको मिति २०५२ सालबाट ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो। त्यही संसदमा नलडीकन हिस्सा लिइयो। सरकारमा चुनाव नलडी पुगियो। अनि हिंसा छोडियो’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘के भएर ? किन त्यत्ति थियो त्यसको उद्देश्य ? पार्लियामेन्टमा अच्छाखासा सिट संख्या र सरकारमा राम्रो हिस्सा । अरु त केही प्राप्त गरेको देखिँदैन। हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्बना भएको बताउनु भयो। हिंसा मच्चाउनेहरु सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कति सम्मको न्यायसंगत हो भन्दै उहाँले प्रश्न गर्नुभयो।