अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाफ च्याम्पियनसिप : लेबनानविरुद्ध जित निकाल्दै नेपाल फाइनलमा

वाफ च्याम्पियनसिप : लेबनानविरुद्ध जित निकाल्दै नेपाल फाइनलमा


काठमाडौँ– लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । हिजो राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनलमा प्रवेश गरेको हो ।   

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट लेबनानले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा पूजाले ‘ब्याक पास’ दिएको बलमा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा चनाखो नरहँदा नेपालले गोल व्यहोरेको थियो । 

तर, ७६औँ मिनेटमा सावित्रा भण्डारीको गोलमा नेपाल लयमा फर्कियो । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । 

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।