अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद: अध्यक्ष ओली

माधव नेपालको प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गर्नुभएको छ।

आज सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताउनुभयो।

संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनी अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । उहाँले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू। आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ- म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरू हो हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ-म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन ।’

अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दाबी गर्नुभयो। 

‘देशमा दक्षिणपन्थी प्रतिक्रियावादीको सरकार कुनै गठबन्धनको सरकार बन्न एमालेले दिँदैन। देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा । एमालेले एकल बहुमत ल्याउँछ। बहुमतको सरकार बनाउँछ २०८४ मा, यो लुकाउने कुरा छैन,’ उहाँले भन्नुभयो ।

सरकारको असफलताले देश, राजनीति र अर्थतन्त्र असफलतातिर गएको र समाज अराजक बनेको उहाँको जिकिर छ।

अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरूको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोपसमेत लगाउनुभयो ।