अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने

एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने


रुपन्देही-नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ। 

पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ।

निष्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुन: अवसर दिइने र पटक-पटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिनुभयो।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ। यसमा प्रदेशभरका ८६ हजार २६० जना नेता/कार्यकर्ताहरू सहभागी हुनुहुनेछ।

सचिव अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ, लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं।’

उहाँले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै उर्जा थप्ने विश्वास लिएको बताउनुभयो । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने बताउनु भयो।