अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री दाहाल

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री दाहाल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तक्र्रिया’लाई सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गर्नुभयो।

‘जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो’, उहाँले भन्नुभयो, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो। अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ।’

प्रधानमन्त्री दाहालले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । देशभक्त, प्रगतिशील र समाजवादी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उहाँले थुप्रै चुनौतीका बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाइएको बताउनुभयो।

जनताको आकांक्षालाई सम्बोधन गर्न जुन बेगबाट जानुपर्दथ्यो । त्यो अवस्था विगतको गठबन्धनबाट नदेखेपछि आफूले नयाँ निर्णय गरेकोसमेत उहाँको कथन छ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने, सरकारी सम्पत्ति व्यक्तिमा लैजाने र तस्करीका विरुद्ध सचेत अभियान चलाइएको उल्लेख गर्नुभयो । नेकपा माआवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो।

‘नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ। यस्तो सम्भावना भएको देश नेपाल नै हो’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘त्यसकारण यही विषयलाई आत्मसात् गरेर मैले केही जोखिम र चुनौती मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो।’

समाजवादको जन्म कहाँबाट हुन्छ रु भन्ने तर्क आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन्। पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ। समाजवाद जन्माउने जनताले हो।’

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पार्नुभयो।

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले जनतालाई ‘डेलिभरी’ दिने गरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने स्पष्ट गर्नुभयो।