अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीबारे झाँक्रीको प्रश्न- सरकार फाँसीवादतर्फ उन्मुख हुँदैछ

पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीबारे झाँक्रीको प्रश्न- सरकार फाँसीवादतर्फ उन्मुख हुँदैछ


काठमाडौं– नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाउँदै सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद झाँक्रीले चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्नुको स्पष्ट आधार, प्रमाण र कारण सरकारसँग नभएको दाबी गरिन्। उनले यस विषयमा सरकार जवाफ दिन नसकेर अप्ठ्यारोमा परेको टिप्पणी समेत गरिन्।

सांसद झाँक्रीले भनिन्, ‘फाँसीज्म वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएका छन्। हामी अहिले त्यस्तै अभ्यास गर्न अभिशप्त भएका हौँ कि जस्तो देखिन्छ। अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गिरफ्तारीमा पर्नुभयो। सरकारसँग जवाफ छैन, उसलाई लाज छोप्न पनि गाह्रो भइरहेको छ। के कारणले गिरफ्तार गरिएको हो ? न कुनै आधार, प्रमाण, कारण केही पनि छैन।’

झाँक्रीले कार्यकारी नेतृत्वमा रहेको शक्तिको दुरुपयोग गर्दै न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेको हो कि भन्ने आशंका व्यक्त गरिन्।

उनले देशको कार्यकारी प्रमुखमा अत्यधिक शक्ति केन्द्रित भएको भन्दै त्यसको प्रभाव राज्यका अन्य संवैधानिक अंगमाथि पर्न थालेको बताइन्। “देशको कार्यकारी प्रमुखमा असीमित पावर छ भन्ने बुझेर न्यायालय र व्यवस्थापिका दुवै अंगमाथि अप्रत्यक्ष प्रहारको तरिका हो कि ? सम्माननीय अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई कठघरामा उभ्याएर प्रश्न सोध्नुपर्छ,” उनले भनिन्।

सांसद झाँक्रीले चोलेन्द्रशमशेर जबराको गिरफ्तारीबारे सरकारले संसद् र जनतासामु स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्।