अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई सांसद राईको प्रश्न– विपक्षीको आवाज सुनुवाइ भएन, संसद् कर्मकाण्डी मात्रै किन ?

सरकारलाई सांसद राईको प्रश्न– विपक्षीको आवाज सुनुवाइ भएन, संसद् कर्मकाण्डी मात्रै किन ?


काठमाडौं-श्रम, संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारले प्रतिपक्षी दलका आवाज र जनताका समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले संसद्मा जनताका सरोकारका विषय पटक-पटक उठाइए पनि सरकारले त्यसको जवाफ र समाधान दिन चासो नदेखाएको आरोप लगाए। उनले जनताका प्रश्नको जवाफ दिन नसक्ने र प्रतिपक्षको आवाजसमेत नसुन्ने हो भने संसद् प्रभावकारी कसरी हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरे।

‘हामीले जनताका धेरै प्रश्नहरू उठाएका थियौँ, तर ती प्रश्नहरूको जवाफ पाउन सकिएन। यो अधिवेशन पनि कर्मकाण्डी जस्तै भयो,’ राईले भने।

उनले सरकार प्रमुखले प्रतिपक्षी दलका माग र आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्न नसकेको बताए। जनताले विश्वास गरेर निर्वाचित गरेका राजनीतिक दलहरू नै जनताको अपेक्षाविपरीत अघि बढ्न थालेको उनको टिप्पणी थियो।

‘सरकार प्रमुखले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुको साटो प्रतिपक्षी दलहरूको जित र आवाजलाई सम्मान गर्न सकेनन्,’ उनले भने, ‘सरकारले विपक्षीको आवाजलाई सुन्नसमेत चाहेन।’

सांसद राईले सरकारलाई प्रतिपक्षलाई पेलेर अघि बढ्ने कि जनताका प्रश्नको जवाफ दिने ? भन्ने प्रश्नसमेत गरेका छन्। संसद्मा आवाज उठाउँदा पनि सुनुवाइ नभए आफूहरू जनताको घरदैलोमै पुगेर समस्या उठाउने उनले बताए।

‘हामी प्रतिपक्षमा रहेर जनताको आवाज उठाउँछौँ। सरकारले नसुने पनि म आजैदेखि जनताको घरआँगनमा पुग्नेछु,’ उनले भने।

उनले विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास नगर्न सरकारलाई चेतावनीसमेत दिए। सरकारमा दम्भ बढ्दै जाने र प्रतिपक्षलाई पेलेरै अघि बढ्ने प्रवृत्ति कायम रहे त्यसको राजनीतिक मूल्य सरकारले नै चुकाउनुपर्ने उनको भनाइ थियो।

राईले संसद्मा उपस्थित सबै सांसदलाई जनताका पक्षमा उठेका मुद्दामा एकजुट हुन आह्वान गर्दै सरकारले जनताका प्रश्न सुन्ने, जवाफ दिने र समाधानतर्फ अघि बढ्ने वातावरण कहिले बनाउँछ? भन्ने प्रश्न उठाएका छन्।