अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ: मुख्यमन्त्री कँडेल

नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ: मुख्यमन्त्री कँडेल


सुुर्खेतकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितिमा सुधार हुँदै गएको बताउनुभएको छ। सुर्खेतमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत तहमा महिला पहुँच स्थापित गराउने विषयमा प्रदेशसभा सदस्य र संसदीय समितिका सभापतिसँगको कार्यक्रमका बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

मुख्यमन्त्री कँडेलले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो। उहाँले कुरीति, अन्धविश्वास र पुरानो मूल्य र मान्यता कर्णालीबाट नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरू कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कल्पना पराजुलीले महिलाहरूको अवस्थाका बारेमा बुझ्न कर्णालीका विभिन्न जिल्लाहरूमा पुगेको बताउँदै कर्णालीमा कानुनभन्दा देउता बलियो पाएको बताउनुभयो। यो अवस्थालाई परिवर्तन गर्न नसके महिलाहरूको नीतिगत तहमा सहभागिता नहुने भन्दै अध्यक्ष पराजुलीले महिलाहरू सधैँ विभेदमा परिरहने बताउनुभयो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले देशमा लोकतन्त्र स्थायित्वपछि महिलाहरूको हरेक क्षेत्रमा सहभागिता बढेको तर, अपेक्षाकृत नभएको दृष्टान्तलाई बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोको प्रितृसत्ताबाट महिलाहरू माथि उठेर सर्वोच्च नेतृत्वमा पुगेका उदाहरणहरू तपाई हामी माझ छन्, आफूले प्राप्त गरेका हरेक अवसरमा आफ्नो कार्यकुशलता प्रदर्शन गर्न जरुरी छ।