अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने


काठमाडौं-सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ।

सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उहाँको सचिवालयले जानकारी दिएको हो।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनुभएको हो।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाउनुभएको हो।

सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले बैठक बोलाउनुभएको हो।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गर्नुभएको थियो । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो ।

आगामी वैशाख २८ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान भएको छ।  सो बैठक बस्नुअघि शीर्ष दलका नेताहरूसँग छलफल गर्नका लागि सभामुखले कार्यकक्षमा बैठक बोलाएको उनको सचिवालयले जानकारी गराएको छ।