झापा-झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी भएको प्रारम्भिक विवरण छ।
बिहीबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी भएको हो। उक्त बडी ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका छन्।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।



प्रतिक्रिया