अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राईको निवेदनमाथि जाँचबुझ भइरहेको छ: निर्वाचन आयोग

अशोक राईको निवेदनमाथि जाँचबुझ भइरहेको छ: निर्वाचन आयोग


काठमाडौं-जनता समाजवादी पार्टी नाम राखेर संघीय परिषद् अध्यक्ष अशोक राईसहितका नेताहरूले गरेको दाबी पेस जाँचबुझकै क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार सांसदहरूको सनाखत गर्ने काममात्रै सकिएको छ। बाँकी जाँचबुझको प्रक्रियामै रहेको उहाँले बताउनु भयो।

‘सांसदहरूको सनाखत गर्ने काम सकियो। उहाँहरूले पेस गर्नुभएको दाबी अहिले हामी जाँचबुझ गरिरहेका छौँ। अहिले नै के हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ पाण्डेयले भन्नुभयो ।

हिजो आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राईले निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको थियो। सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाउनु भएको थियो।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादवलाई बनाइएको छ। नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। डा. वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ। हस्ताक्षर गरेका सात सांसद आयोग कार्यालयमा पुगेका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला पार्टी विभाजन भएको छ।