अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव गौतमलाई अध्यक्ष ओलीको जवाफ: एकताको भावना सकारात्मक छ, महाअभियान सफल होस् 

वामदेव गौतमलाई अध्यक्ष ओलीको जवाफ: एकताको भावना सकारात्मक छ, महाअभियान सफल होस् 


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपाले लिएको बताउनु भएको छ।

सोमबार काठमाडौँमा वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बनाउने सही विचार र सिद्धान्त बोकेका पार्टी भएकाले एमालेमा समाहित भएर नै देश र जनताको विकास र समृद्धि पुरा गर्न सकिने बताउनु भयो।

अध्यक्ष ओलीभन्दा अगाडि बोल्नुभएका गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताउनुभएको थियो।

नेता गौतमको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ। त्यसबारेमा अहिले यो बहस गर्ने थलो होइन। म यति भन्न सक्छु– वामदेवको प्रस्ताव सकारात्मक भावनाको हो। यसलाई अगाडि बढाऔँ ।उहाँ वामपन्थी एकता अभियान चलाउँदै आउनुभएको छ त्यो अभियान सफल होस् शुभकामना दिन चाहन्छु ।’

अध्यक्ष ओलीले एमालेले सही विचार र प्रवृत्तिको बाटो समातेकै कारण एमाले एमाले भएको बताउनुभयो । ‘गल्ती हुनसक्छ, त्यो सच्याउनुपर्छ, आत्मकेन्द्रीत नभई देश केन्द्रित भएर सोच्नुपर्छ’, ओलीले भन्नुभयो, ‘एमालेमय छ देश । जहाँ हेर्‍यो त्यहाँ एमाले । गाउँ सहर, कृषि फर्म, गाडी हेर एमाले ।’

नेकपा एमाले स्वार्थका लागि होइन, सफलताका लागि एकताको अभियान र नारा दिन्छ। सावधानी साथ दिन्छ । एमालेलाई हामी राष्ट्रिय निर्णायक शक्तिको तहमा स्थापित गर्न चाहन्छौ।

केपी शर्मा ओली

अध्यक्ष,  नेकपा एमाले

अध्यक्ष ओलीले त्यसकै लागि एमालेले मिसन ८४ अभियान चलाएको पनि बताउनु भयो।

‘नेकपा एमाले स्वार्थका लागि होइन, सफलताका लागि एकताको अभियान र नारा दिन्छ। सावधानी साथ दिन्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेलाई हामी राष्ट्रिय निर्णायक शक्तिको तहमा स्थापित गर्न चाहन्छौ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले तोड्दा र फोड्दा पनि नसकिएको भन्दै बरु सबैभन्दा लोकप्रिय शक्तिका रूपमा देखिएको बताउनु भयो। ‘उपनिर्वाचनमा दुबै स्थानमा एमालेले जित्यो । यो मिसन ८४ तर्फको सफलताको सुरुवात हो । यस अभियानमा सही ढङ्गले यथोचित ढङ्गले समाहित हुन म सबैलाई आग्रह गर्न चाहन्छु’, ओलीले भन्नुभयो, ‘यस अभियानमा सरिक हौँ । यस शक्तिलाई निर्णायक शक्तिका रूपमा विकास गरौँ ।’