अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लालटिन बालेर पनि नभेटिने हाेइन, जता हेर्‍यो त्यतै एमाले भेटिन्छ: अध्यक्ष ओली

लालटिन बालेर पनि नभेटिने हाेइन, जता हेर्‍यो त्यतै एमाले भेटिन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देश एमालेमय भएको बताउनुभएको छ। 

सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेलाई लालटिन बालेर खोज्दा पनि नभेटिने बनाउँछौँ भनेर केही शक्ति लागेका भए पनि एमाले जता खोज्दा पनि भेटिने अवस्थामा पुगेको बताउनुभयो।

‘खोज्दा नभेटिने होइन एमालेमय छ देश, जहाँ हेर्‍यो त्यहाँ एमाले भएको छ, जहाँ हेर्‍यो त्यहाँ एमालेमय बन्छ, त्यसैका लागि मिसन २०८४’, ओलीले भन्नुभयो।

नेकपा एमालेले स्वार्थका लागि होइन सफलताका लागि एकताको अभियान चलाउने उहाँले बताउनुभयो। राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा नेकपा एमाले लागेको उहाँले स्पष्ट पार्नुभयो। एमालेलाई सिद्धाउँछौँ भनेर लागेको बेला पनि नेकपा एमाले देशको प्रमुख शक्तिको रूपमा स्थापित भएको उहाँले बताउनुभयो। हालै भएको दुईवटा निर्वाचन नेकपा एमालेले जितेको बताउँदै उहाँले यो मिसन २०८४ को सफलताको सुरुवात भएको ओलीको भनाइ छ।

एमालेको अभियानमा यथोचित ढङ्गले समाहित हुन उहाँले सबैलाई आग्रह गर्नुभयो। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सबैलाई एमालेको अभियानमा लाग्न ओलीले आह्वान गर्नुभयो। उहाँले आफूलाई कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई कम्युनिस्ट पार्टीको मूलधार नेकपा एमालेमा समाहित हुन आग्रह गर्नुभयो। ‘सबै आउनुस्, सबै एकजुट भएर जाऊँ’, ओलीले भन्नुभयो।

ओलीले बामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भावना भएको बताउनुभयो । त्यस विषयमा छुट्टै बसेर छलफल गर्ने उहाँले जानकारी दिनुभयो । गौतमको राष्ट्रिय एकता महाअभियान सफल होस् भन्दै ओलीले शुभकामना दिनुभयो।

ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको बताउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र होइन, योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो।

नेकपा एमाले यी सबै कुरालाई चिरेर अघि बढेको ओलीले बताउनुभयो । एकलकाटेर, गैर जिम्मेवार प्रवृत्ति चिन्न र बुझ्न ओलीले आग्रह गर्नुभयो । ‘हाम्रो पार्टीले सही विचारको, सही प्रवृत्तिको बाटो समातेको छ, त्यो दिशा लिएको छ, त्यो अडान राखेको छ, त्यसै कारण एमाले एमाले भएको छ’, ओलीले भन्नुभयो।

एमाले वैचारिक र राजनीतिक रूपमा स्पष्ट भएको उहाँले बताउनुभयो । गल्ती हुनसक्ने बताउँदै उहाँले आत्म केन्द्रित भएर होइन, संगठन केन्द्रित सच्चिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।

नयाँ पुस्ताले पुराना सफलताका रेकर्ड तोड्दै नयाँ डोब बनाउनु पर्नेमा ओलीले जोड दिनुभयो । नयाँ पुस्ताले नयाँ नयाँ रेकर्ड बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

ओलीले चुनावी तालमेलदेखि पार्टी एकतासम्मको काम गरेर कम्युनिस्ट पार्टीलाई अघि बढाएको भए पनि त्यसलाई टिकाइराख्न नसकेको बताउनुभयो । एउटा उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनले फेरि एक झड्का खाएको ओलीको भनाइ छ। आन्दोलनलाई देशी विदेशी शक्तिले सिद्धाउँछौँ भनेर लागेका भए पनि असफल भएका ओलीले बताउनुभयो।

सिद्धिलाल ज्ञवाली देश र जनता प्रति निष्ठा भएको मानिस भएको ओलीले बताउनुभयो । ओलीले ज्ञवाली आन्दोलन र पार्टी प्रति निष्ठा भएको मान्छे भएको बताउनुभयो । ज्ञवाली आफ्नो भूमिको कारण कहिले काहीँ यता उता भए पनि आफ्नो कारण पार्टी र आन्दोलनबाट यता उता नहुने भएको ओलीले स्पष्ट पार्नुभयो।