अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब हुन्छ : अध्यक्ष ओली

एमालेमा बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब हुन्छ : अध्यक्ष ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तामा मात्र हैन नेतृत्वलाई पनि सञ्चार साक्षरताको जरुरी रहेको बताउनुभएको छ । उहाँले आधुनिक सञ्चारका प्रविधीसँग अभ्यस्त हुन नसक्दा एमालेका कयौं नेता कार्यकर्ता समयसँगै अद्यावधिक हुन नसकेको बताउनुभयो ।
पार्टीको प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सञ्चारका परम्परागत माध्यमका अतिरिक्त आधुनिक प्रविधिसँग एमाले नेता कार्यकर्ताले परिचित नभए राजनीति गर्न मुस्किल हुने बताउनुभयो । ‘सञ्चारका साधनहरुबाट नै पार्टीका सही नीतिहरु जनतामा पुर्याउने हो । यसका लागि पार्टीको सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘तर हामीले सञ्चारका परम्परागत माध्यममा मात्र भर परेर हुदैन । नेता कार्यकर्ता सबैले आधुनिक सञ्चारका माध्यमसँग अभ्यस्त हुनु पर्दछ । ’


अध्यक्ष ओलीले समाजमा विपक्षीहरुले फैलाएको भ्रम चिर्नका लागि नयाँ प्रविधि धेरै उपयोगी हुने बताउनुभएको छ । अहिले सञ्चारका तौरतरिका बदलिएकोले तिनीहरुको माध्यमबाट सञ्चारको ड्राइभिङ सिटमा बसेकाहरुले आम जनता समक्ष सही सुचना र बिचार पुर्याउनु पर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीका नाममा सामाजिक सञ्जाल खोल्ने त्यही सञ्जालबाट नेता र पार्टीको बदख्वाँइ गर्ने काम तुरुन्त रोक्न निर्देशन दिनुभयो । ‘पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालबाट वा सञ्चार माध्यमबाट नेताको बदख्वाँई गर्ने,पार्टीलाई बदनामी गर्ने काम अब क्षम्य हुदैन’ अध्यक्ष ओलीले भन्नुभयो ‘एमाले भित्र बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब हुन्छ । सबै नेता कार्यकर्ताले अनुशासनमा बस्नुपर्दछ ।’
प्रचार विभागका प्रादेशिक संयोजक,प्रदेशका प्रमुख तथा केन्द्रीय प्रचार विभागका सदस्यहरुको सामुहिक बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको महत्वपूर्ण अंगको रुपमा रहेको यस विभागका सदस्यहरुले पार्टीका राम्रा नीति,कार्यक्रम,योजनाहरु आम जनतामा पुर्याएर एमालेप्रति सकारात्मक भाव पैदा गर्नुपर्ने बताउनुभयो । सञ्चारले जनतालाई सुचना र शिक्षा दिने भएकोले जनताले यसै माध्यमबाट आफूलाई देशभक्त र आफू सार्वभौम देशको नागरिकको रुपमा विकास गर्ने बताउनुभयो । ‘सही सुचना दिनुहोस,सही विष्लेषण गर्नुहोस । तपाईंहरुले प्रवाह गरेका विषयवश्तुले आम मानिसले एमालेप्रतिको धारणा सकारात्मक बनाउने हुन् । ’


विभागले प्रस्ताव गरेको नेकपा एमालेको सञ्चार नीति २०८१ का विषयमा सुझाव दिंदै अध्यक्ष ओलीले उद्धेश्य र लक्ष्य फरक फरक विषय भएकोले तिनीहरुलाई अलग अलग खण्डमा व्याख्या गर्न भन्नुभएको छ । यस नीतिमा सञ्चारका परम्परागत माध्यमका रुपमा रहेका साहित्य,कला,संगित,कार्टुन,व्यंग्य आदिलाई पनि समेट्नु पर्ने बताउनुभएको छ ।
उहाँले एमालेको केन्द्रीय प्रचारका लागि ठूलो टिम आवश्यक रहेको बताउनुभयो । ‘यो हलमा उपस्थित भएजति सबै सञ्चारकर्मी एमालेको केन्द्रीय प्रचार टिममा दैनिक काम गर्नपर्दछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘कसैले अनलाइनमा लेख्ने,कसैले सामाजिक सञ्जालमा लेख्ने,कसैले टिभि रिर्पोट बनाउने,कसैले पत्रिकामा लेख्ने गर्न पर्दछ । त्यसो भयो भने एमालेले भन्न खोजेका कुरा सहजै जनतामा पुग्दछन् । विपक्षीहरुले भ्रम पनि फैलाउन पाउदैनन् । ’