काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको छ।
आइतबार चितवन जानु भएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै अध्यक्ष ओली र गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उहाँहरूबीच छलफल चलिरहेको छ।
विशेषगरी संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बतायो।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।
आज दिउँसो सभामुख देवराज घिमिरेले शेरबहादुर देउवा र रवि लामिछानेलाई फोन गरेर राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको थियो।




प्रतिक्रिया