अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ममा सानैदेखि केही गर्छु भन्ने आत्मविश्वास थियाे: अध्यक्ष ओली

ममा सानैदेखि केही गर्छु भन्ने आत्मविश्वास थियाे: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेकाे बताउनुभएकाे छ।

मंगलबार गृह जिल्ला झापाकाे सुरुंगामा आयाेजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावकाे ओहाेदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेकाे मानिस भएकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियाे म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियाे, मलाई अभिभावकाे प्रतिष्ठा, सम्पत्ति र ओहाेदाले कहिल्यै मद्दत गरेकाे हाेइन, बिना पैसा, बिना अभिभावकाे ओहाेदा, मर्यादा, आफ्नाे संघर्षबाट अगाडि बढेकाे थियाे, म आफ्नै प्रयासले अघि बढेँ।’

अध्यक्ष ओलीले घैलाडाेबा हाइस्कूलबाट एसएलसी पास गरेपछि क्याम्पस छाेडेर देशमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्य लिएर अघि बढेकाे बताउनुभयाे। ५४ वर्ष अगाडि देशमा परिवर्तन ल्याउनुपर्छ, राम्राे मनले मात्रै हुने रहेनछ, राम्राे विचारले मात्रै पनि हुने रहनेछ, राम्राे मन र विचार दबाइने रहेछ त्यसकारण राम्राे विचारलाई सफल बनाउनका लागि संघर्ष गर्नपर्ने रहेछ भन्ने बुझेपछि आफू संघर्षकाे मैदानमा लागेकाे उहाँले स्मरण गर्नुभयाे।

इमान्दारीसाथ अगाडि बढेकै कारण देशमा परिवर्तन गर्दै अघि बढेर आज यस ठाउँमा आफू आइपुगेकाे अध्यक्ष ओलीले बताउनुभयाे। उहाँले भन्नुभयो, ‘मैले जानेकाे सफलता इमान्दारीतामा निर्भर गर्दछ, सफलता इमान्दारीमा लुकेकाे हुन्छ, इमान्दारीतासाथ अध्ययन गर्ने विद्यार्थी सफल हुन्छ असफल हुन सक्दैन, इमान्दारीतासाथ खेल्ने खेलाडी सफल हुन्छ, इमान्दारीतासाथ जसले जुन काम गर्छ सफल हुन्छ।’

गीत संगीत आफूलाई निक्कै मन पर्ने भएपनि त्याे प्रस्तुत गर्ने क्षमता आफूमा नरहेकाे अध्यक्ष ओलीले सुनाउनुभयाे। ‘मैले त्यसमा प्राइमेरी लेभल पनि पास गर्न सक्ने थिइनँ हाेला’- उहाँले भन्नुभयाे।

सही र आफूलाई उपयुक्त हुने विषय छानेर अघि बढ्न अध्यक्ष ओलीले बालबालिकालाई आग्रह गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘तपाइँहरु सबैमा क्षमता छ, तर तपाइँकाे विशेष क्षमता के मा छ ? त्याे क्षमता पहिचान गर्नुस्, हाम्राे रगतमा पुर्खाकाे जीन छ जसले ज्ञानकाे सुरुआत, विज्ञानकाे सुरुआत, सही विषय छान्नुस्, त्यसमा तपाइँ सफल हुनुहुन्छ।’

मदरगासका चाैरीमा खेल्ने, सुरुंगा हाइस्कूलकाे फुटबल मैदान, शनिश्वरेर लगायत ठाउँमा आफूले खेलेकाे अध्यक्ष ओलीले स्मरण गर्नुभयाे। सानाे बेलामा आफूसँग फुटबल खेल्न जुत्ता, स्कूल जाँदा जुत्ता-चप्पल केही नरहेकाे उहाँले स्मरण गर्नुभयाे । सानैदेखि आफूलाई घरकाे काम गर्न मन लाग्ने अध्यक्ष ओलीले बताउनुभयाे।

Skip This