मोरङ- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभएको छ।
मोरङको टङ्कीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बूढीगङ्गा–३ नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार पिउनेपानीको समस्या हल गर्दै जाने बताउनुभयो । त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको धारणा राख्नुभयो।
उहाँले बजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्ने चर्चा गर्दै प्रदेश र सङ्घले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गएको अवस्थामा सबैले तराई पहाडमा पानी पुनःभरण गर्न आग्रह गर्नुभयो।
सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदारलगायतले जनसङ्ख्या वृद्धिअनुसार खानेपानी आवश्यकता टड्कारो रहेको धारणा राख्नुभयो।
टङ्कीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा रु २७ करोड ५५ लाख ४० हजार नौ सय २८ लागतमा निर्मित आयोजनाको आज उहाँले उद्घाटन गर्नुभएको हो। उक्त खानेपानी आयोजनामा चार सय ५० घनमिटरको दुई ट्याङी र एक सय ६६ किलोमिटर पाइप विस्तारबाट सो गाउँपालिका–१,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी लाभान्वित भएका छन्।




प्रतिक्रिया