अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्रपछि विकासले गति लिएको छः मन्त्री चौधरी

गणतन्त्रपछि विकासले गति लिएको छः मन्त्री चौधरी


काठमाडौँ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मुलुकमा गणतन्त्र स्थापना भएपछि विकासले गति लिएको बताउनुभएको छ। गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले तस्बिर हेर्दा गणतन्त्र स्थापनापछिको विकासलाई यस प्रदर्शनीमार्फत नियाल्न सजिलो भएको बताउनुभयो।

प्रदर्शनीमा राखिएको सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१४ स्थित इन्द्रवाति नदी किनारको माझी समुदायको नमुना वस्तीको तस्बिरलाई मन्त्री चौधरीले मनपराउनुभयो। उहाँले उक्त तस्बिर मोबाइलमा समेत कैद गर्नुभयो। 

प्रदर्शनीमा राखिएका बाँकेको सिक्टा सिँचाइ परियोजनादेखि एकीकृत माझी बस्तीसम्मको विकास अवलोकनपछि मन्त्री चौधरीले भन्नुभयो, “हामीले विकास नै भएन भनिरहेका हुन्छौँ तर प्रदर्शनीमा राखिएका तस्बिरले कहाँ र कस्तो विकास भइरहेको रहेछ बुझ्न सजिलो भयो।”

उहाँले अब स्थानीयदेखि केन्द्र सरकारले मानव विकासका गतिविधिलाई प्राथमिकतामा राख्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो। भौतिक पूर्वाधारसँगै मानव सभ्यताको पनि विकास हुन सके मात्रै साँचो अर्थमा विकास भन्न मिल्ने उहाँको भनाइ थियो। 

प्रदर्शनीमा समावेश नेपाली सेनामा महिलाको सहभागिताका केही तस्बिरले महिला सशक्तिकरण झल्काएको उहाँले सुनाउनुभयो। “महिला सहभागिता गणतन्त्रपछि पक्कै बढ्दो छ तर, यो अझै पनि धेरै काम गर्न बाँकी छ”, मन्त्री चौधरीले भन्नुभयो, “विकास निरन्तर प्रक्रिया हो, रोकिदैन।”

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पूँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन्।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन्। सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन्। राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन्।