अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण: उद्योगमन्त्री भण्डारी

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण: उद्योगमन्त्री भण्डारी


कैलाली-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उहाँले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताउनुभयो। 

रोजगारी प्रवद्र्धनका रुपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गर्नुभयो।

मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रुपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताउनुभयो। उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।

नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताउनुभयो। नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुभ्mन मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो। 

कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन् । मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार छ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महास्घ छन्। 

मेलामा वभिन्न कार्यशाला सञ्चालन हुनेछन्। सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला सञ्चालन हुनेछन्।