अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम: विष्णु पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम: विष्णु पौडेल


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम रहेको बताउनु भएको छ।

सोमबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विमास्थलमा आयोजना गरेको अन्तरक्रियामा उपाध्यक्ष पौडेलले विमानस्थल चल्न सक्ने प्रयाप्त आधार भएको तर्क प्रस्तुत गर्नुभयो।

उहाँले विमानस्थल छोटो अवधिमै राम्रोसँग सञ्चालन हुनसक्ने भएकाले अब कुनै प्रकारको ढिलासुस्ती र विलम्ब गर्न नहुने भन्दै सार्वजनिक लेखा समितिले पहलकदमी लिनु सराहनीय रहेको बताउनुभयो।

‘यो विमानस्थल सरकारको कार्यसूचीमा परेन। कुन मोडालिटीमा चलाउने, कसरी सञ्चालन गर्ने, के कस्ता इन्सेन्टीभस् दिने र कस्ता विशेष प्याकेज ल्याउने भन्नेबारे सरकारको प्राथमिकताको कार्यसूचीमा पर्न सकेन’ उहाँले भन्नुभयो, ‘विमानस्थल चलाउन सुरुदेखि हुनुपर्ने पहलकदमी हुन नसकेको हो, विमानस्थलको निर्माण प्रक्रिया सुरुदेखि नै सञ्चालनको तयारी गर्नुपर्दथ्यो।’

उपाध्यक्ष पौडेलले लुम्बिनीमा विमानस्थल बन्न सक्छ र चल्नसक्छ भन्ने तथ्य पुष्टि भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिबेला यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने कोशिस पनि भएको थियो।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय उपसमिति गठन गरिएको छ।