काठमाडौं-कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा-कलाकारसँग व्यतित गर्नुभएको छ।
नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमीगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभयो।
प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारहरुसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरु ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरुमा’ (संस्मरण)को लोकार्पण गर्नुभएको थियो। कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने बताउनुभयो। आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकररुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरु हाल सङ्कलनमा नरहेको सुनाउनुभयो। ‘पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ। सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडोँभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ। शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो। आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरु दायाँबायाँ छन्। एक्लो महसुस गर्नु पर्दैन। हामी साथमा छौँ।’
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शाक्यजी साहसिकरुपमा अघि बढेर साहित्य रचना गर्नुस्। तपाईँको स्वास्थ्यको बारेमा पनि हामी जिम्मा लिन्छौँ। लेखिएका कृतिहरु प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरु भुवरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस्।’
समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरेआदिका रचना र गायनहरु सार्थक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताउनुभयो। सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कविताहरुमा भावको उच्चरुप पाइने बताउनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले भूमीकालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र समाजिक क्षेत्रमा योगदान दिएको बताउनुभयो।




प्रतिक्रिया