सुनसरी-सुनसरीको धरान उपमहानगरपालिका-२०, च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा लोड गर्दै गरेको अवस्थामा फेला परेका उनीहरू भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्। यादव र शाह दुईवटा स्कार्पियो गाडीका चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
सो क्रममा प्रहरीले दुवै गाडीमा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीलाई देखेपछि गाँजासहित भाग्न खोजेका उनीहरूलाई दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



प्रतिक्रिया