अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सरकारले विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रहार गर्दै स्वेच्छाचारी शैली अपनाएको कांग्रेसको आरोप छ।

सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा धरपकडका घटनासहित सरकारका विवादित गतिविधिको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताए। पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

कांग्रेसले पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो,’ नेता आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’

सरकारले कानुनी प्रक्रिया पूरा नगरी आफूखुसी निर्णय र कारबाही गर्ने प्रवृत्ति देखाएको कांग्रेसको निष्कर्ष छ। यस्तो कार्यले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउने र आफूअनुकूल शासन सञ्चालन गर्ने खतरा बढाएको आङदेम्बेको भनाइ थियो।

कांग्रेसले पत्रकार धरपकड तथा सरकारसँग जोडिएका अन्य विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेको छ।

सरकारले सुशासन, जनसरोकार र सार्वजनिक हितका पक्षमा गर्ने राम्रा काममा आफ्नो समर्थन रहने स्पष्ट पार्दै कांग्रेसले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका गतिविधि भए कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ।