काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ।
नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभयो। उहाँले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। पिएसबी कार्यान्यवन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिनुभयो।
‘तपाईहरु काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु’, सञ्चार मन्त्री गुरुङले भन्नुभयो, ‘जनतालाई सहि र तथ्यगत सूचना दिनुहोस्।’
पिएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उहाँले उल्लेख गर्नुभयो। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भएपनि समय सापेक्ष परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै अनुरुप पिएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता सावित हुने बताउनुभयो।
‘तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिइ जनतालाई जागरुक गराउनु पिएसबीको मुख्य दायित्व हो’, सञ्चार मन्त्री गुरुङले भन्नुभयो।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी आएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको संरचनागत पुनःमिलन गराउन बाँकी रहेको बताउनुभयो । संस्थाले कर्मचारीको व्यवस्थापन कसरी गर्छ रु भन्ने चिन्तालाई हटाएर सबैले निर्धक्कपूर्ण आ–आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले आग्रह गर्नुभयो ।
“कर्मचारीलाई दुखि बनाएर कुनै काम हुँदैन”, उहाँले भन्नुभयो, ‘तपाईहरु मनमा कुनै चिन्ता नराखि ढुक्क भएर काम गर्नुहोस्। कसैप्रति अन्याय हुन दिदैँनौ।’
पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रर्याप्त बजेट, नीति, स्रोत र साधन भए पिएसबीको मान्यतालाई पूर्णरुपमा लागू गराइ प्रभावकारी बनाउन सकिने विश्वास दिलाउनुभयो।
प्रतिक्रिया