अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रम्प र जेलेन्स्कीको वार्तापछि शंकर पोखरेलको टिप्पणी: भूराजनीतिक द्वन्द्वको केन्द्र बन्ने खतरा देखियो

ट्रम्प र जेलेन्स्कीको वार्तापछि शंकर पोखरेलको टिप्पणी: भूराजनीतिक द्वन्द्वको केन्द्र बन्ने खतरा देखियो


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वार्तापछि हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने पाठ सिकाएको बताउनु भएको छ।

ह्वाइटहाउस पुगेका जेलेन्स्कीसँग राष्ट्रपति ट्रम्प चर्काचकी परेको बारे महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुमा लेख्नुभएको छ, ‘अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ। हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ।छिमेकीसँगको सम्बन्ध बिग्रदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दो रहेछ। छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’

महासचिव पोखरेलले रुस र युक्रेन दुवैका लागि युद्ध घातक भएको र युद्ध अन्त्यका लागि निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव नहुने बताउँदै एशियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एशिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

महासचिव पोखरेलले अमेरिकाको पछिल्लो रणनीतिले ‘अबको एशिया नै भूराजनीतिक द्वन्द्वको केन्द्र बन्न सक्ने’ बताउनु भएको छ । साथै, गाजा क्षेत्र प्यालेस्टाइनीहरुबाट खोस्ने योजना र रुस–युक्रेन युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्व शान्तिको उद्देश्यसँग नजोडिएको महासचिव पोखरेलले बताउनु भयो।

महासचिव पोखरेलका अनुसार यी प्रयासहरुको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ। महासचिव पोखरेलले यस्तो स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्ने र यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक रहेको जोड दिनुभएको छ।

महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएकाे जस्ताको तस्तै

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ ।

आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठूलो मुल्य चुकाउनु पर्ने अवस्था देखिँदैछ ।

शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति बिना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।

अमेरिकाको पछिल्लो रणनीतिले अवको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ ।

साथै रुस र युक्रेनबीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ ।

यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।