काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो सवा २ बजे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ। आजको नियमित मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूको उपस्थितिमा छलफल गर्न लाग्नु भएको हो।
प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिने भएका हुन्। यसअघि तयारीका बारेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग बजेटको सीमा र राजस्व संकलनको अवस्थाबारे छलफल गरेर सम्भावित आयोजना बनाउन आग्रह गर्नुभएको थियो।
सरकारले नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने वर्षे अधिवेशन बोलाउने तयारी गरिरहेको छ। गत चैत १९ गते संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो।
सरकारले नयाँ बजेट २०८२ जेठ १५ गते संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ।
प्रतिक्रिया