गोरखा-बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्तीका घर, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन्।
स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारमा रहेका ५८ वटै घरधुरीका घर बस्नै नसक्ने गरी क्षतिग्रस्त भएका छन्। घरभित्र रहेका सामान बाढीले बगाएको वा पुरेको छ। बाढीअघि बुढीगण्डकी नदी बस्तीको अर्कोतर्फबाट बग्ने गरे पनि अहिले घरआँगनबाटै नदी बगिरहेको उनले बताए।

‘पुरै ध्वस्त भयो, केही छैन। ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन। निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भने, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन्। अहिले हामीसँग केही बाँकी छैन।’
बाढीबाट विस्थापित परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए। नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेका छन्। अन्य परिवारले भने साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी पाएको खत्रीले बताए। तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत नष्ट भएपछि प्रभावित परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन भएको छ।
बाढीले घर मात्र नभई कृषि तथा पशुपालनमा निर्भर परिवारको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ। स्थानीय घारे गुरुङको दुई रोपनी जमिनमा लगाइएको खेती बाढीले नष्ट गरेको छ। बाख्रा, गाई र कुखुरापालनबाट जीविकोपार्जन गर्दै आएका गुरुङको आम्दानीको स्रोतसमेत गुमेको छ।
‘मेरो दुई रोपनी जमिनको खेती गयो। अरू क्षतिको त हिसाब नै छैन,’ गुरुङले भने।
बाढीले घर, खेतबारी र पशुपन्छीमा क्षति पुर्याएपछि शान्तिबजारका बासिन्दा आर्थिक संकटमा परेका छन्। घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा सरसफाइका सामग्री आवश्यक देखिएको छ। घर र सम्पत्तिसँगै जीविकोपार्जनका आधारसमेत गुमाएका प्रभावित परिवारलाई पुनःस्थापना गर्न तत्काल राहत र दीर्घकालीन सहयोग आवश्यक देखिएको छ।





प्रतिक्रिया