अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री वाग्लेलाई प्रदीप ज्ञवालीको प्रश्न- कुन ‘युग’को कुरा गर्नुभएको हो ? 

अर्थमन्त्री वाग्लेलाई प्रदीप ज्ञवालीको प्रश्न- कुन ‘युग’को कुरा गर्नुभएको हो ? 


काठमाडौं-नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। नेता ज्ञवालीले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्। उनले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको स्पष्ट पार्दै नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्।

‘नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन। नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ’, नेता ज्ञवालीले भनेका छन्, ‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैँमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।’

अर्थमन्त्रीले कुन ‘युग’को कुरा गर्नुभएको हो ? भन्दै प्रश्न गरेका नेता ज्ञवालीले नेपाल र भारतबीच कतिपय समस्या रहेको बताएका छन् ।

नेता ज्ञवालीले नेपाल–भारत सम्बन्धमा रहेका विभिन्न समस्याको चर्चा गर्दै ती विषयमा खुलस्त संवाद आवश्यक रहेको बताएका छन्। उनका अनुसार सीमा विवाद, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या र नेपालले वैकल्पिक हवाई प्रवेश मार्ग प्राप्त गर्न भइरहेको ढिलाइ दुई देशबीच छलफल गर्नुपर्ने विषय हुन्।

नेपालको राष्ट्रिय हितका विषय उठाउनु कुनै देशविशेषको विरोध नभएको उल्लेख गर्दै ज्ञवालीले हरेक सरकारले राष्ट्रिय हितको रक्षा गर्नुपर्ने बताएका छन्। उनले यस्ता समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

‘सीमा समस्या, सुरक्षा छाताको आभास दिने १९५० को सन्धिका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरूले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नुपर्ने झन्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रूपमा पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि’ समस्या रहेको ज्ञवालीको भनाइ छ ।

‘घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन’, ज्ञवालीले भनेका छन्, ‘यी विषयहरू उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो ।’

यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने उनको भनाइ छ। बरु त्यस्तो नीतिले राष्ट्रिय हित र स्वाभिमानमा आँच पुर्‍याउने नेता ज्ञवालीले टिप्पणी गरेका छन्।

‘त्यसको बलमा हुने गम्भीर कूटनीतिक पहल हो । यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्‍याउँछ’, नेता ज्ञवालीको भनाइ छ ।