अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदीप नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त

प्रदीप नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त


काठमाडौँ-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ। कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा नेपालले खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने घिमिरेले बताउनुभयो। 

बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय हुनुहुन्थ्यो।

विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन्। २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उहाँले राजनीतिक जीवन प्रारम्भ गर्नुभएको थियो।

नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गर्नुभएको थियो। उहाँ चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उहाँको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उहाँका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन्। कवि मन्जुल (मेघराज नेपाल) उहाँका सहोदर दाइ हुन्।