काठमाडौँ-काठमाडौँको तीनकुनेमा आज बिहान बसले दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका-३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।
मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर, भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की र बसमा सवार दोलखा घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र ०१-०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको पल्सर मोसालाई ठक्कर दिदाँ दुर्घटना भएको हो।
बस चालक, भ्यान र मोटरसाइकल प्रहरी वृत्त बानेश्वरको नियन्त्रणमा राखिएको छ। बस भने काठमाडौँ उपत्यका ट्राफिक महाशाखा रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
प्रतिक्रिया