अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा आउने कुनै योजना छैन, कसैले चिन्ता लिनु पर्दैन: राधिका शाक्य

राजनीतिमा आउने कुनै योजना छैन, कसैले चिन्ता लिनु पर्दैन: राधिका शाक्य


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नरहेको बताउनु भएको छ।

शाक्यले आफ्नो पुस्तक ‘करुणा’ बारे २०८२ जेठ ५ गते सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आफूलाई लागेका कुरा किताबमा व्यक्त गरेको प्रस्ट पार्दै राजनीतिमा आउने कुनै लक्ष्य र योजना नभएको उहाँले बताउनु भयो।

‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भन्नुभयो, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि छैन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन।’

शाक्यले आफू एउटा सामान्य नेपाली नागिरक रहेको प्रस्ट पार्नुभयो। शाक्यले भन्नुभयो, ‘म इमानदार नेपालीको छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ। यो ठीक, यो बेठिक भन्ने कुरा लागेको छ। ती लागेका कुरा मैले किताबमार्फत व्यक्त गरेको हो।’

लागेको कुरा व्यक्त गर्ने अधिकार सबैलाई रहेको उहाँले बताउनुभयो। ‘त्यसो भएकाले म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो।

शाक्यले केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही पनि नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको दाबी गर्नुभयो।

शाक्यले आफू कडा स्वभावको भएकै कारण कोही पनि आफूसँग कुनै प्रकारको माग र आकाङ्क्षा लिएर नआउने पनि प्रस्ट पार्नुभयो। ‘मसँग त त्यस्तो माग लिएर आउँदैनन्। मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ शाक्यले भन्नुभयो, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ भनेर खोज्ने रहेछन्।’

Skip This