काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आग्रह गर्नुभएको छ।
आज सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हो’ लेखिएको पोष्टर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘सामूहिकतामा विश्वास राख्नेहरुलाई झोले भनेर लखेटिए पनि सत्य अँगाल्न नछोडौं’ भन्ने आग्रह गर्नुभएको हो।
सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उहाँको अपिल छ।
‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ प्रधानमन्त्री ओली सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’
प्रधानमन्त्री ओली शनिबार एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै झोले हुनुमा आफूलाई गर्व लाग्ने बताउनु भएको थियो।
‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, अब चित्त बुझ्यो प्रतिक्रियावादीहरुलाई? म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।’

प्रतिक्रिया