अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातीय विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री ओली

जातीय विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय विविधता नै नेपालीको पहिचान भएकाले यसलाई राष्ट्रिय एकताका लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ। 

आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५औं सञ्चालक परिषदको बैठकमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो। देशमा रहेका ३७प्रतिशत आदिवासी जनजाति नै मुलुकको गहना भएकाले उहाँहरूको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्दै पहिचान कायम गर्नुपर्छ भन्नुभयो। 

६३ प्रतिशत नागरिकलाई समेत एकताको सूत्रमा बाँधेर अगाडि बढ्नुपर्छ भन्नुहुँदै प्रतिष्ठानको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘उत्थान भनेको क्षमता वृद्धि गर्नु हो, अवसरको उपलब्धता हो, सरकारले त्यसमा ध्यान दिएको छ।’

जातीय संस्कार र संस्कृतिले पहिचान दिएको छ, यसमा सबै नेपालीले गर्व गर्ने गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो संंस्कृतिलाई मर्न दिनु हुँदैन, मूर्त र अमूर्त संस्कृतिलाई जोगाउनु पर्छ, यसले हाम्रो पहिचान कायम गरेको छ।’

‘हाम्रा पौराणिक र आदीम कालका बाजा छन्, संस्कृति छन्, त्यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, जातीय समुदाय र सरकार स्वयम्ले पनि यसको संरक्षणमा लाग्नुपर्छ’ प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘नेपालमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जागरण आएको छ । यो हाम्रो लागि ठुलो उपलब्धि हो।’

मुलुकमा बहुदलीय व्यवस्था आएपछि, मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपछि मात्र त्यो सम्भव भएको उहाँले चर्चा गर्नुभयो ।